सुर्खेत – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने अध्यक्ष थापाको तर्क छ ।
पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष थापाले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताउनु भएको हो । प्रदेश संरचनाको कुनै औचित्य नभएको थापाले दाबी गर्नुभयो ।
अध्यक्ष थापा भन्नुहुन्छ, ‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, त्यसैले यसको कुनै औचित्य छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ ।’
अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देश नै संकटमा पर्ने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनु हुँदैन । समयमै नियन्त्रण गर्न आवश्यक छ ।’ नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको अध्यक्ष थापाले बताउनु भयो । लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको उहाँको ठहर छ । ‘म सरकारसँग माग गर्दछु, यसलाई समयमै रोकौँ । त्यसो नगरिए देशनै संकटमा पर्ने खतरा छ ’ अध्यक्ष थापाले भन्नुभयो ।





प्रतिक्रिया