अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४११ जनाले बुझाए  निर्वाचन खर्च विवरण

४११ जनाले बुझाए  निर्वाचन खर्च विवरण


चितवन – स्थानीय तहको निर्वाचन सकिएको एक महीना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उहाँले जानकारी दिनुभयो । राप्ती नगरपालिकाका २६१  उम्मेदवारमध्ये १०, कालिका नगरपालिका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४  उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिनुभयो । नियमावली अनुसार महानगर प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु तीन लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले रु.चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यले रु.दुई लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले रु.तीन लाख ५० हजार वडाध्यक्ष र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।