अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेखर समुहको निष्कर्ष : देउवा काग्रेस होइन, गठबन्धनको सभापति

शेखर समुहको निष्कर्ष : देउवा काग्रेस होइन, गठबन्धनको सभापति


काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक आज सकिएको छ ।

बैठकले विभिन्न पाँच बुँदे निर्णय गरेको छ । बैठकको बारे जानकारी दिँदै कांग्रेस नेता डा.गोविन्द पोखरेलले सरकारले विकास, जनजीविका, अर्थतन्त्रको विकासमा काम गर्न नसकेको बताउनुभयो । ‘सरकारले हामीले गरेको बाचा अनुसार पूरा गर्न सकेन, विशेष गरी सरकार सञ्चालनमा जनतालाई राहत दिन सकेन, जनजीविकालाई हामीले सम्बोधन गर्न सकेनौँ’, उहाँले भन्नुभयो ।

सुशासनको विषयमा जनाएको प्रतिबद्धता अनुसार प्रधानमन्त्रीले काम गर्न नसकेको उहाँले बताउनुभयो । बजेट बनाउने कुरामा व्यापक रूपमा आर्थिक सुशासनको खिल्ली उडाउने काम गरेको तथा नीतिगत भ्रष्टाचार भएको भन्दै सो समूहले त्यसलाई तत्काल रोक्नु पर्ने निष्कर्ष निकालेको पोखरेलले जानकारी दिनुभयो ।

परराष्ट्र नीतिको सवालमा सरकार चुकेको सो समूहले निष्कर्ष छ । पार्टी सभापति कांग्रेस पार्टीको भन्दा पनि गठबन्धनको सभापति जस्तो भएको निष्कर्ष सो समूहले निकालेको पोखरेलले बताउनुभयो । ‘अहिले सभापतिजी नेपाली कांग्रेसको भन्दा पनि गठबन्धनको सभापति भएर हिँड्नु भएको छ’, उहाँले भन्नुभयो ।

पार्टीलाई बलियो बनाउने, विधि विधान अनुसार चल्ने कुरामा सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीका सबै संरचना परिचालन गरेर सरकार र पार्टीले गरेका नराम्रा कामको विरोध गरेर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

सभापति पार्टीका ४० प्रतिशत नेता कार्यकर्ताको सभापति बन्नै नसकेको उहाँले बताउनुभयो । उहाँले केवल आफ्नो गुट लिएर हिँडेको सो समूहको निष्कर्ष छ । ‘सभापति कांग्रेको सभापति हुनु पर्‍यो, गठबन्धनको होइन’, उहाँले भन्नुभयो ।

बैठकमा कोइराला सहित पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेताको सहभागिता रहेको थियो ।