काठमाडौ -नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारमा आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति पालना नगर्ने भएको छ । एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय लिएसँगै कांग्रेससँगको सहमति पालना नहुने भएको हो ।
शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बसेको थियो । बैठकमा तत्काल सरकारको नेतृत्व नछाड्ने गरी कुरा अघि बढेको एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलले जनाएको छ । ।
‘बैठकमा तत्काल सरकार परिवर्तन नगर्ने कुरा भयो । यो विषय टुंगो लगाउन गठबन्धनका शीर्ष नेतृत्वलाई जिम्मा दिइएको छ,’दलकी सचेतक सिग्दलले भन्नुभयो ।
बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँग गत कात्तिक पहिलो हप्ता सरकारमा जानुअघि सहमति गरेका थिए । कांग्रेसले सहमति कार्यान्वयनका निम्ति निरन्तर दबाब सिर्जना गरिरहेको छ । कांग्रेसको साथमा नेकपा माओवादी केन्द्रपनि छ ।
बागमतीमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न गठबन्धनभित्र पाण्डेमाथि चर्को दबाब परिरहेको छ । पाण्डेले सहमतिअनुसार सरकार परिवर्तनका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन गरिसकेका छन् ।





प्रतिक्रिया