अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८ अर्बको विश्व !

८ अर्बको विश्व !

नेपालको जनसंख्या अवसर पनि सँगै चुनौती पनि सँगै


आज जुलाई ११ तारिक । विश्व जनसंख्या दिवस । विश्वको अवसर र समस्या दुवै रुपमा जनसंख्यालाई अथ्र्याउने गरिएको छ । अवसर यस कारण कि हरेक मानिस जन्मदा केही ने केही नयाँ सोच, सृजना र सीप लिएर जन्मिएका हुन्छन् । तिनले राम्रो वातावरण पाए भने आफ्नो जीवनकालमा केही न केही योगदान गर्दछन् । जसले गर्दा जन्म आफैंमा एउटा नयाँ सृजना हो । त्यसलाई रोक्नु हुन्न मान्यता एकातर्फ छ ।

अर्कोतर्फ बढ्दो जनसंख्या नै विश्वको चुनौतीको रुपमा खडा भएको छ । यसले सृजना गरेको भोकमरी,अव्यस्थित बसाइ,स्वास्थ्य र शिक्षाका समस्या अर्कातर्फका चुनौती हुन् । ठूलो जनसंख्यालाई धान्नु पर्दा विश्वले अरु नयाँ क्षेत्रमा लगानी गर्न नसक्ने भएकोले यसलाई नियन्त्रित गर्नुपर्दछ भन्ने अर्को मान्यता छ ।

सन् १९८७ मा ५ अर्ब जनसंख्या हुँदा हाहाकार फैलिएको विश्वमा यसवर्ष अर्थात् सन् २०२२ को अन्त्यमा ८ अर्ब मानिसहरु हुनेछन् । संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार ८ अर्बको जनसंख्यालाई विश्वले कसरी धान्न सक्ला भन्नेतिर अबका बहसहरु केन्द्रीत हुनेछन् । त्यसैले यसवर्षको जनसंख्या दिवशको नारा पनि “A world of 8 billion: towards a resilient future for all- harnessing opportunities and ensuring rights and choices for all” (आठ अर्ब जनसङ्ख्याः सबैको छनौट र अधिकारको सुनिश्चितता सहित उज्ज्वल भविश्यका लागि अवसरको प्राप्ती)चयन गरिएको छ ।

विश्वको जनसंख्या ८ अर्ब हुँदा नेपालले त्यसको कति हिस्सा ओगट्दछ भन्ने अहं प्रश्न छ । थाहै छ नेपाल भूगोल र जनसंख्याको हिसाबले सानो देश हो । ८ अर्बमा नेपालले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनाको हिस्सा ब्योहोर्दछ । प्रतिशतका हिसाबले यो अत्यन्त न्यून हिस्सा हो ।

तर यो जनसंख्याको सदुपयोग के कसरी भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । जनगणना २०७८ को प्रारम्भिक नतिजाका आधारमा नेपालको जनसंख्या व्यवस्थापननका केही चुनौतीहरु उर्लेर आएका छन् । सरकारले यी चुनौतीहरुको व्यवस्थापन गर्ने हो भने नेपालको जनसंख्या अवसरै अवसरको खानीका रुपमा छ । तर यसलाई असरल्ल छोडिदिने हो यो चुनौतीको चाङको रुपमा रहेको छ ।

जस्तै नेपालको जनसंख्या तराई मधेस केन्द्रित छ । सानो भूगोलमा जनसंख्याको ठूलो हिस्सा अर्थात देशको आधा भन्दा बढी ५३.६ प्रतिशत जनसंख्या तराईका २० वटा जिल्लामा बस्दछ । जसले आवाद भूमि घरैघरको सहर बन्दैछ । जसले गर्दा हामी खाद्यान्नमा परर्निभर हुँदैछौं । यो चिन्ताको विषय हो ।

दोस्रो हिमाल र पहाडका ३२ वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा छ । यसले हिमाल पहाडलाई निर्जन र खण्डहर मात्र बनाएको छैन यी भौगोलिक क्षेत्रलाई राज्यको नीति निर्माण तहमा आफ्नो वर्चश्व पनि क्रमश गुमाउँदैछन् । संविधानले निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई आधार मान्ने व्यवस्था गरेको छ । संविधानमा एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र हुने गरी जनसंख्यालाई मानिएको आधारका कारण मात्र थोरै जनसंख्या भएका जिल्लाले पनि संघीय संसदमा एउटा प्रतिनिधी पाएका हुन् । अघिल्लो दशकमा २७ वटा जिल्लाले जनसंखिक क्षती भोगेकोमा यो दशकमा अरु पाँचवटा जिल्ला थपिएका छन् ।

तेस्रो समृद्धिको आधारका रुपमा रहेको युवा जनसंख्या रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको छैन । अहिले पनि २१ लाख ७५ हजार मानिसहरु विदेशमा भएको तथ्यांक छ । यसमा अधिकांश युवा उमेरका छन् । तिनीहरु मध्ये पनि अदक्ष र अर्धदक्ष जनशक्ति साउदीका देशमा पसिना बगाउदैछन् । त्यसकारण नेपालले समृद्धि हासिल गर्ने हो भने नेपालका युवालाई नेपालमा नै रोजगार सृजना गर्नुपर्दछ । नत्र केही दशक भित्र नेपाल बृद्धहरुको देशमा परिणत हुने तर समृद्धचाहिँ आकाशको फल हुने कुरामा धेरै बसहको जरुरी नै पर्दैन ।

चौथो नेपालको जनसंख्या अहिले इतिहासकै स्वर्णिमकालमा छ । अर्थात अहिले काम गरेर खान सक्ने उमेरका जनसंख्याको बाहुल्यता छ यहाँ । १५ देखि ५९ वर्षको सक्रिय जनसंख्या ५७ प्रतिशत छ । जब देशमा जन्दर घट्छ, मृत्यूदर पनि घट्छ । महिला शिक्षा रारेजगारीको बढोत्तरी हुन्छ,मानिसको औषत आयु बढ्छ अनि देश जनसंखिक लाभासंसतिर लम्कन्छ । जनसंखिक लाभांस भनिने यो समय सधैं आउँदैन । यसलाई एक जुगमा एक पटक आउने अवसरको रुपमा व्याख्या गरिन्छ । विश्का जतिपनि देशले विकास र समृद्धिमा फड्को मारेका छन् । यही जनसंखिक लाभांसको कालमा । नेपालमा यो समय ५५ वर्षको हुन्छ भन्ने जनसंख्याविज्ञहरुको भनाइ छ । त्यस मध्ये करिब ३० वर्षको समय हामीले गुजारिसकेका छौं । अबको २५ वर्षमा नेपालले विकास र समृद्धिको फड्को नमार्ने हो भने नेपाल ज्येष्ठ नागरिकको देशमा परिणत हुन्छ । राज्यको ठूलो हिस्सा यिनै ज्येष्ठहरुको पालनपोषणमा खर्चिनु पर्दछ ।

यस बाहेक नेपालमा लैंगिक अनुपातको बढ्दो खाडल, अप्रत्यासित रुपमा घटेको जन्मदर र जनसंख्या वृद्धिदर समस्याका चाङ निम्त्याउने केही विषयहरु हुन् । यी विषयहरुलाई तीनै तहका सरकारले आफ्नो आफ्नो ठाउँमा सम्बोधन गरे भने हाम्रो यात्रा सहजै हुनेछ । जनसंख्या एउटा अवसरको रुपमा स्थापित हुनेछ अन्यथा यही जनसंख्या नै एउटा मुल समस्याको रुपमा स्थापित हुने देखिन्छ ।