काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्नु नहुने बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिनुहुँदै नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ।
प्रधानमन्त्री ओलीले चेतप्रसाद ढकालले १६० वटा गाई पालेर दैनिक ८०० देखि १ हजार ४०० सय लिटरसम्म दूध बिक्री गर्दै आएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। ढकालसहित १४ जना किसानलाई २०८२ असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मान गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता उदाहरणहरु राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताउनु भएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘शुभ बिहानी ! चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका चेतप्रसाद ढकालले गाई पालनबाट सफलता पाएको खबर पढें। उहाँ सहित १४ जना किसान असार१० गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत हुनुभयो। समाचार अनुसार उहाँले ६ वटा गोठमा १६० वटा गाई पालेर दैनिक ८०० देखि १ हजार ४०० लिटरसम्म दूध बेच्नुहुन्छ। बिहानैदेखि ‘एग्रेसन’ बढाउने र निराशा फैलाएर अरु नै उद्धेश्य पूरा गर्न सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो, मीम र पोष्टरहरुले सार्वजनिक सञ्चार माध्यममा आएका यस्ता सफलताका कथालाई ओझेल पारेका हुन्छन् ।‘
प्रधानमन्त्री ओलीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताउनु भएको छ। ‘हामी जे सुन्छौं, हेर्छौं र गर्छौं – आफू पनि त्यस्तै हुँदै जान्छौँ। यस्ता खबर प्रेरणाका लागि लायक हुन्छन् भने खराब सामग्री फैलाउने लतले विनाशतिर लैजान्छ।‘
प्रधानमन्त्री ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गर्नुभएको छ। चेतप्रसाद ढकाललाई बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले सबैको जय होस् भन्ने शुभकामनासहित सकारात्मक सोच र कार्यको समर्थन गर्न आमजनसमक्ष अपिल गर्नुभएको छ। ‘चेतप्रसाद ढकाललाई बधाई ! सबैको जय होस् !’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ।







प्रतिक्रिया