काठमाडौं – संघ र प्रदेशको आगामी निर्वाचनको मिति घोषणा हुन साँझ–बिहान भएको छ । निर्वाचन आयोगले मंसीर ४ गतेको मिति प्रस्ताव गरेकोले कम्तिमा त्यसको १२० दिन अघि सरकारले निर्वाचनको घोषणा गर्नै पर्दछ । जसले गर्दा आगामी हप्ता निर्वाचनको मिति घोषणा हुने करीब निश्चित छ।
निर्वाचनमा कुन दल कसरी जालान भन्ने धेरैको चासोको विषय बनेको छ । खासगरी सत्ता गठबन्धनलाई यथावत राख्न देशी–विदेशी शक्तिको जोडबल देखिन्छ । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु देउवाको जारी भारत भ्रमणलाई त्यसकै एउटा कडीको रूपमा पनि अथ्र्याइएको छ । स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धनबाट काफी फाइदा लिएको विश्लेषण छ । जसले गर्दा स्वयं कांग्रेसका नेताहरू पनि गठबन्धन गरेरै निर्वाचनमा जाने पक्षमा छन् । केही समय अघिसम्म गठबन्धनको विरोध गरिरहेका गगन थापा र शेखर कोइरालाहरूको पनि कांग्रेसमा ‘टोन डाउन’ हुँदै गएको देख्न सकिन्छ । माओवादी पनि कि यही गठबन्धन भित्रबाट या त एमालेसँग गठबन्धन गरेर जानु पर्ने बाध्यतामा छ । विगतको निर्वाचनमा भन्दा स्थानीय निर्वाचनमा माओवादीको मत घटे पनि परिणाम बढेको भनेर यो पार्टी मख्ख परेको छ । नेकपा एस, माओवादी जता जता उतै उतै पछि लाग्ने अवस्थामा छ ।
एमाले के गर्ला ?
सबैको चासोको विषय आगामी निर्वाचनमा एमालेको रणनीति के हुन्छ भन्नेमा छ । संसदमा सबभन्दा ठूलो पार्टीको रूपमा रहेको एमालेले आगामी निवार्चनमा कसरी आफ्नो जितलाई सुनिश्चित गर्दछ भन्ने धेरैले नियालेका छन् । ‘एमालेको रणनीति जसरी पनि चुनाव जित्ने हुन्छ’ स्थायी कमिटी सदस्य डा.राजन भट्टराई भन्नुहुन्छ ‘तत्कालीन आवश्यकताले गठबन्धन हुन पनि सक्छ तर अहिलेसम्मको स्थिति हेर्दा एमाले एक्लै चुनावमा जान्छ । जनमत एमाले केन्द्रित नै रहेकोले सके बहुमत नत्र ठूलो पार्टी हुनबाट हामीलाई कसैले रोक्न सक्दैन ।’
हुन त पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्ति २६ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि गठबन्धनको ह्यांग ओभरबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरिएको छ । पार्टीले जारी गरेको अपानिमा सबै प्रदेशहरूलाई स्थानीय तहको निर्वाचनको वश्तुनिष्ठ विष्लेषण सहितको प्रतिवेदन तयार गर्न भनिएको छ । उनीहरूलाई असार मसान्तसम्ममा पूर्ण प्रतिवेदन पार्टी केन्द्रमा बुझाउन निर्देशन गरिएको छ ।
‘तत्कालीन आवश्यकताले गठबन्धन हुन पनि सक्छ तर अहिलेसम्मको स्थिति हेर्दा एमाले एक्लै चुनावमा जान्छ । जनमत एमाले केन्द्रित नै रहेकोले सके बहुमत नत्र ठूलो पार्टी हुनबाट हामीलाई कसैले रोक्न सक्दैन ।’
– स्थायी कमिटी सदस्य, डा.राजन भट्टराई
प्रायःसबै प्रदेशहरूले वडा तहदेखि कै मत परिणामको विश्लेषण गरेर आगामी निर्वाचनको सम्भावित नतिजाका बारेमा केन्द्रीय कार्यलयलाई बुझाएका छन् । उनीहरूले चुनावी मत परिणामको तालिका र त्यसलाई रेखाचित्रमा समेत प्रष्तुत गरेर स्पष्ट बुझिने गरी महासचिवलाई जिम्मा लगाएका छन् ।
अपानिमा भनिएको थियो– ‘यही असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइ सक्ने । निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षको सूची (चेक लिस्ट) बनाएर विगतको कमीलाई नदोह¥याउने सुनिश्चित गर्ने । स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग अलग शक्ति सन्तुलनको अद्यावधिक समिक्षा गर्ने ।’
पार्टीको निर्वाचन विभागले प्रदेशहरूबाट आएका तथ्यांकलाई विज्ञहरू राखेर केलाउन लगाएको छ । जसबाट संघ र प्रदेशमा के कति सिट एक्लै जित्न सकिन्छ ? साना पार्टीसँगको गठबन्धनबाट के कति सिट थप्न सकिन्छ ? माओवादीसँग गठबन्धन हुँदा के कति सिट लाभ लिन सकिन्छ आदि विष्लेषण गरिरहेको एक नेताले जानकारी दिए । तथ्यांक विष्लेषणमा संलग्न एक विज्ञका अनुसार एमालेको नतिजा नराम्रो छैन तर अन्य दलले गठबन्धन गर्दा परिणामलाई केही असर पर्ने स्थिति छ । समानुपातिक तर्फ एमालेको अपेक्षित मत आउने देखिन्छ । अपानिमा उल्लेख भए अनुसार स्थानीय निर्वाचनमा ३४ प्रतिशत मत आएको छ । अब १६ प्रतिशत मत थप्दा एमालेको बहुमत पुग्दछ । त्यसका लागि पार्टीलाई व्यापक रुपमा मतदाता समक्ष स्थापित गर्ने, नयाँ मतदाता आकर्षणमा विशेष अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिने जस्ता कार्य गर्न भनिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूले तीन प्रकारका सुझाव दिइरहेका छन् । पहिलो धारले एक्लै निर्वाचनको सामना गर्ने, दोस्रो राप्रपा, लोसपा लगायतका दलहरूसँग चुनावी गठबन्धन गर्ने र तेस्रो सत्ता गठबन्धन भत्काएर माओवादीसँग गठबन्धन गर्ने । पहिलो धारको नेतृत्व महासचिव शंकर पोखरेलले दोस्रो धारको उपाध्यक्ष सुवास नेम्वाङ र तेस्रो धारको नेतृत्व अर्का उपाध्यक्ष विष्णु पौडेलले गरेको एमालेमा चर्चा छ ।
एक्लै चुनाव लड्नु पर्छ भन्ने धारले निर्वाचनपछि सरकार बनाउनका लागि कुनै पनि दलसँग गठबन्धनको ढोका खुलै हुने धारणा राख्ने गरेको छ । प्रचण्डको अस्थिर चरित्रको उपयोग निर्वाचन पछि पनि गर्न सकिने यो धारको भनाइ छ । यो धार माधव नेपालसँग गएका नेता कार्यकर्तालाई पार्टीमा फर्काउने अभियानमा छ । नेताहरुको दाबी अनुसार केही दिनमा नै नेकपा एसको उच्च स्तरका केही नेता एमाले प्रवेश गर्दैछन् । केही निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले एमालेलाई सहयोग गर्ने वचन दिएका छन् ।
गत निर्वाचनमा पनि राप्रपासँग चुनावी गठबन्धन गरेकोले यस पटक पनि त्यसलाई निरन्तरता दिनु उपयुक्त हुने दोस्रो धारको बुझाइ छ । चुनावी गठबन्धनको प्रस्ताव लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेता बुद्धीमान तामाङ उपाध्यक्ष नेम्वाङलाई भेट्न निवासमै गएका थिए । केही दिन पहिले भएको भेटमा आफूहरुलाई सत्ता गठबन्धनले पनि प्रस्ताव गरेको तर पहिलो प्राथमिकता एमालेसँग नै मिलेर जाने सोचाइ भएको उनीहरुले नेम्वाङलाई बताएका छन् ।
उता कमल थापाले आफूलाई मन पर्ने नेता केपी ओली भएकोले एमालेसँग चुनावी गठबन्धन गर्न इच्छुक रहेको सार्वजनिक रूपमा भन्न थाल्नु भएको छ । यो कुरा सुनेका लिङदेनले नेम्वाङलाई भन्नुभयो, ‘कमल थापासँग गठबन्धन गर्ने भए पनि अलग–अलग ढंगले डिल गरौं र आफ्नो पोजिसन क्लियर गरौं ।’
यस विषयमा लिङदेनले ठोस कुरा नभएको बताउनुभयो । ‘सुवासजीहरूसँग भेटघाट त बेला बेला भइरहन्छ कुरा पनि भएको हो’ लिङदेनले यो बेलासँग कुरा गर्दै भन्नुभयो ‘तर अहिले यो विषयले कुनै ठोस आकार लिइसकेको छैन ।’
यता मध्यमार्गी स्वभावका पौडेल चाहिं गठबन्धन गरेपछि पहिलो पार्टी र सरकार बनाउन पुग्ने बहुमत ल्याउने गरी गर्नुपर्ने अडानमा हुनुहुन्छ । त्यसका लागि माओवादीसँगको गठबन्धन सुरक्षित हुने उहाँको धारणा छ । तर एक्लै चुनावमा जाने बाहेकका विकल्पमा अध्यक्ष ओलीले अहिलेसम्म कुनै संकेत नदिएकाले नेताहरू अघि बढ्न सकेका छैनन् ।





प्रतिक्रिया