बुटवल – नगरसभा बैठक स्थगित गरेको बिरोधमा तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन् ।
आज दिउँसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगित भएको जानकारी गराएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् ।
नगरसभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेको आरोप छ । एमाले जनप्रतिनिधिहरूले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा मागेका छ्न् ।
एमाले जनप्रतिनिधिले गणपूरक संख्या पुग्दा पुग्दै बैठक स्थगित गर्नु गैरकानुनी काम भन्दै बैठक सञ्चालन गर्न माग गरेका छन् । एमालेबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख रामकृष्ण खाँणले विधि, पद्धति र कानुन विपरीत बैठक स्थगित गराएको आरोप लगाए ।
तिलोत्तमामा नगर प्रमुख र १७ मध्ये ९ वडाध्यक्ष जितेको काङ्ग्रेस नगर कार्यपालिका र नगर सभामा अल्पमतमा छ । एमाले उपमेयर र ८ वडा अध्यक्षसहित नगरसभाको ४८ पद जितेर बहुमतमा छ ।





प्रतिक्रिया