अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूल्यवृद्धि हुँदा पनि सरकारको ध्यान पुग्न सकेन : खिमलाल भट्टराई

मूल्यवृद्धि हुँदा पनि सरकारको ध्यान पुग्न सकेन : खिमलाल भट्टराई


काठमाडौं – राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ  ।

तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भन्नुभयो, “नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, अरू वस्तुको मूल्य वृद्धि हेर्ने हो भने जनताको ढाड सेकिएको छ, एक वर्षमा एक सय १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।”

उहाँले डिजेलमा ७१, पेट्रोलमा ५४, ग्यासमा २६, चामलको पीठोमा एक सय १७, कालो भटमासमा ७५, चामलामा ७७ र तोरीको तेलमा ५८ प्रतिशत वृद्धि भएको जानकारी गराउनुभयो ।

जनताले उपभोग गर्ने खाद्यान्नमा मूल्यवृद्धिले ढाड सेकिएको र जनतामा गरिबी बढ्दा विभिन्न आपराधिक गतिविधि बढेकोतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतन्त्रमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा जनताको समस्या भए पनि त्यसतर्फ सरकार गम्भीर हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

सांसद भट्टराईले कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता ल्याउने र सन् १९५० को सन्धिलाई पुनरावलोकतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले ओम्नी लगायतका विषयमा एक-एक गरेर छानबिन गर्न आग्रह गर्दै त्यसमा आफ्नो पार्टीले कुनै गल्ती नगरेको जिकिर गर्नुभयो । उहाँले चुनाव र त्यसको तयारी धाँधलीरहित बनाउन  पनि आग्रह गर्नुभयो ।