अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार नालायक भयो, यसको कुनै औचित्य छैन : प्रेम सुवाल

गठबन्धन सरकार नालायक भयो, यसको कुनै औचित्य छैन : प्रेम सुवाल


काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गठबन्धन सरकारको कुनै औचित्य नभएको टिप्पणी गर्नुभएको छ ।

खराब ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालोबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उहाँले बताउनु भएको हो ।

आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माण अलपत्र पारेर बसेको शैलुङ कन्सट्रक्सनलाई अविलम्ब काम पूरा गराउन पनि सरकारसँग माग गर्नुभयो ।

मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुल्दा पनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उहाँले आक्रोश पोख्नु भयो ।

उहाँले काठमाडौं उपत्यकाका सडक निर्माणको धेरैवटा ठेक्का ओगटेर अलपत्र पार्ने निर्माण व्यवसाय शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बसेको पनि सम्झाउनु भयो । उहाँले भन्नुभयो, ‘शैलुङ कन्स्ट्रक्सनले नै ठेक्का पाएको भक्तपुर-नगरकोट सडकको काम २०७१ जेठ २२ बाट सुरु भएको हो । २०७३ असार ३ गते भित्र सकिनुपर्ने थियो । यो सडक अविलम्ब निर्माण गर्न नेपाल मजदुर किसान पार्टीले तेलकोटदेखि खरिपाटीसम्म प्रदर्शनसहित माग गरेको पनि ५ वर्ष भयो । तर सरकारले ७ पटक म्याद थपे । अहिले ७९ प्रतिशत मात्र काम भएको समाचार आएको छ। नगरकोट र दुवाकोटको सडक लगायत अविलम्ब पूरा गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’