अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक गलत भए च्यातेर देखाउन बाँस्कोटाको चुनौती

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक गलत भए च्यातेर देखाउन बाँस्कोटाको चुनौती


काठमाडौं – नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराउनु भएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनु भयो । हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताउनु भयो ।

उहाँले सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताउनु भयो । सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन। यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो। यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन।’

उहाँले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनःसुधार्नका लागि पठाएको बताउनु भयो । उहाँले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिनुभयो।

उहाँले भन्नुभयो, ‘संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो। यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? कि त भन्नुपर्छ। संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ ? त्यो त सक्नुहुँदैन। गलत तरिकाले पास नगरौँ।’