उर्लाबारी– विराटनगर मोरङको पूर्वी उत्तरी भागमा पर्ने निर्वाचन क्षेत्र नं १ एमालेको गढको रुपमा चिनिन्छ । यसपालीको स्थानीय तहको निर्वाचनमा विगतमा गुमेका पालिकाहरु पनि एमालेले जितेपछि यो क्षेत्रमा धेरै नेताहरुको नजर परेको छ । गठबन्धनलाई हराउन आफू सक्षम हुने उनीहरुले दाबी गर्र्दै आएका छन् ।
यस क्षेत्रमा उर्लाबारी र लेटाङ नगरपालिका सहित केराबारी र मिक्लाजुङ गाउँपालिका पर्दछन् । जसमध्ये मिक्लाजुङ बाहेक तीनवटा स्थानीय तहमा प्रमुख सहित बहुमत पद एमालेले जितेको छ । स्थानीय चुनावमा एमालेले ३२ हजार ३ सय ६६ मत पाउँदा काँग्रेसले ३१ हजार ४ सय १३ मत ल्याएको थियो । माओवादीको मत ६ हजार ५ सय ८३ हुदा नेकपा एसको १ हजार ९३ मत थियो ।
२०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रका जनताले रोल्पाका वर्षमान पुनलाई हराएर माओवादीलाई कमजोर बनाएका थिए । त्यसपछि माओवादीले यहाँ संगठन विस्तार गर्न नसकेको स्थानीयबासीहरु बताउँछन् । अझ राजेन्द्र पौडेल सहितका माओवादीका यस क्षेत्रका नेता अहिले नेकपा एमालेमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । त्यसैले यहाँ एमाले र कांग्रेसकै भिडन्त हुने हो । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बूले जिते पनि त्यसपछिको प्रभाव क्रमशः एमालेले विस्तार गर्दै लगेको छ ।

२०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट एमालेका पुराना नेता घनश्याम खतिवडा विजयी हुनुभयो । तत्कालिन लेटाङ गाविसका अध्यक्ष खतिवडालाई यहाँका मैदान र भीरपाखा सबैले चिन्छन् भन्ने यहाँका जनता । केन्द्रीय राजनीतिमा खासै नदेखिने खतिवडा जनताका घरआँगनमा भने बारम्बार देखिएपछि उहाँप्रतिको मोह जनताको छ नै । ‘स्थानीय क्षेत्रमा प्रभाव घनश्याम खतिवडाको बलियो छ,’ उर्लाबारीका एक एमाले कार्यकर्ता भन्छन्, ‘तर उहाँले आफू उम्मेद्वार हुने नहुने अहिलेसम्म केही बताउनुभएको छैन ।’
तर यो क्षेत्रमा चर्चा घनश्यामको मात्र छैन । केन्द्रीय राजनीतिमा प्रभाव राख्ने पूर्व उपसभामुख,पूर्व मन्त्री डा. शिवमाया तुम्बहाम्फेको पनि चर्चा व्यापक छ । तर उहाँले पनि म यही क्षेत्रबाट चुनाव लड्छु भनेर सार्वजनिक रुपमा नभनेको स्थानीय एमाले कार्यकर्ताहरु बताउछन् । समानुपातिक प्रणालीबाट सांसद भएकी तुम्बाहाङ्फे एक यस्ती भाग्यमानी सांसद हुनुहुन्छ जसले नेकपा सत्तामा हुँदा उपसभामुख र कानून मन्त्री पार्टी फूटेपछि एमालेको तर्फबाट भूमी व्यवस्था तथा सहकारी मन्त्री हुनुभयो । करिब ४१ महिना पार्टी सत्तामा हुँदा सधैं लाभको पदमा बस्ने एमालेका थोरै नेतामा शिवमायाको नाम आउँछ । ‘उहाँको गृह नगर पनि उर्लाबारी नै हो । त्यसैले चुनावमा यस क्षेत्रबाट दाबी स्वभाविक रहन्छ,’ तुम्हाम्फेका पूर्वस्वकीय सचिव घनश्याम भण्डारी भन्नुहुन्छ, ‘हामीलाई दुई गुण भएको उम्मेद्वार चाहिएको छ । एउटा गठबन्धनलाई परास्त गर्ने र अर्को केन्द्रीय राजनीतिमा पहुँच राखेर क्षेत्रको विकास गर्न सक्ने ।’
शिवमायाको मन्त्री पद र केन्द्रीय राजनीतिको प्रभावको अनुभूति यस क्षेत्रका जनताले नपाएको गुनासो पनि स्थानीयबासीमा उत्तिकै छ । तर पनि भावी दिनमा यस क्षेत्रको विकासका लागि केन्द्रीय योजना पार्न सक्ने प्रभावी पनि उनै शिवमाया नै भएको सबैको एक मत छ । एमाले लेटाङ नगर कमिटीका एक पदाधिकारीका अनुसार स्थानीय चुनावको रुझान हेर्दा जनप्रिय भए पनि पुराना उम्मेदवारलाई दोहोर्याएर चुनावी मैदानमा होमिनु जोखिमपूर्ण छ । ‘पुराना राम्रै भए पनि जनताले नयाँ अनुहार खोजेको अनुभूति अस्तीको चुनावमा भएको छ,’ ती पदाधिकारी भन्छन्, ‘अहिले फलानो नै चाहिन्छ भनेर अन्य दाबेदारलाई म चिढ्याउन चाहन्न । तर पार्टी कमिटीमा चाहिँ जित्ने उम्मेद्वार फलाना हो भनेर भनेको छु ।’
निर्वाचनको माहोल तातिसकेपनि शिवमायाको यस क्षेत्रमा आवागमन उस्तो बाक्लो नभएकोले कतिपय एमाले कार्यकर्ता नै उहाँको योजना के हो भन्ने स्पष्ट नभएको बताउँछन् । घनश्यामले आफैं हुनुपर्दन भनेर अडानै पनि नराखेकोले यस क्षेत्रमा एमालेले नयाँ उम्मेद्वार पठाउन पनि सक्ने आंकलन छ ।

यसका लागि अन्य दुई जना नेताको नाम पनि पार्टीको एक पक्षले चर्चामा ल्याएको छ । जसमा एमालेका पुराना नेता तथा स्थायी कमिटी सदस्य गुरु बराल र पोलिटव्यूरो सदस्य बिनोद ढकालको नाम चर्चामा ल्याइएको छ । क्षेत्र नं ३ का बासिन्दा बराल गत माघमा भएको राष्ट्रियसभाको निर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो । पार्टीको जारी केन्द्रीय कमिटीले यसै कार्यकालमा कुनै निर्वाचनमा उम्मेद्वार भएका व्यक्तिलाई पुनः अवसर नदिने नीति अंगिकार गर्यो भने बराल उम्मेद्वार हुनबाट रोकिनु हुनेछ । त्यसो नगरेको अवस्थामा उहाँको दाबी पनि बलियो हुनेछ । विराटनगरका बासिन्दा ढकाललाई पनि केही नेताहरुले यस क्षेत्रमा लैजाने प्रयास गरेका छन् । तर ढकालले यस विषयमा अहिले नै कुनै प्रतिक्रिया नदिएको लविङमा लागेका नेताहरु बताउछन् ।
एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष गंगा बास्तोलाका अनुसार जनभावनाको कदर गरेर नै कमिटीले उम्मेद्वार सिफारिस गर्नेछ । पार्टीका प्रदेश र केन्द्रले स्थानीय कमिटीको मर्मलाई बुझेर नै निर्णय गर्ने अपेक्षा गरिएको बताउनुहुन्छ । उहाँको भनाइ छ, ‘यस क्षेत्रका चार वटै पालिकाका एमालेका अध्यक्षहरु आन्तरिक छलफलमा पनि छाँैं । भरसक चारैवटा पालिकाले साझा धारणा बनाएर उम्मेद्वारको सिफारिस गर्दछौं ।’
सत्तारुढ गठबन्धनले यस क्षेत्रबाट पूर्व सभासद्ध डिकबहादुर लिम्बू वा उर्लाबारीका पूर्व मेयर खड्ग फागो मध्ये एक जनालाई अघि सार्ने सम्भावना छ । अलग अलग छवि भएका दुवै जनासँग भिडेर जीत निकाल्न एमालेले विशेष रणनीति बनाएर अघि बढ्नु पर्ने सुझाव स्थानीबासीहरुको छ । उर्लाबारीका एक शिक्षक भन्छन्, ‘विगतको निर्वाचनमा माओवादी र अहिलेको नेकपा एसको मत पनि सूर्य चिन्हमा आएको हो । एमालेबाट अलग्गीएको एसलाई पनि प्रभावमा राख्नु एमालेका लागि चुनौति छ ।’ उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमले एमालेलाई केही सहज पनि भएको छ ।
जब नेकपा एसले माओवादीसँग पार्टी एकता उन्मुख चुनावी गठबन्धनको प्रस्ताव ल्यायो तब स्थानीय कार्यकर्ता भड्किएका छन् । आफूहरु माओवादी हुन भन्दा एमालेमै फर्किन राजी हुने उनीहरुको मनसाय देखिन्छ । ‘त्यसैले यस क्षेत्रमा एमालेबाट जसले टिकट ल्याउछ उसैले साँसद हुने अवसर पाउने देखिन्छ ।’





प्रतिक्रिया