अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता


गलकोट-निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखर खेती लगाइएको छ । उक्त स्थानमा दुई वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना मार्फत् जग्गा चक्लाबन्दी कार्यक्रम मार्फत ती खती लगाइएको थियो ।

यस्तै बानपा १२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुईसय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कदैका छन् । सोही समूहलाई समेत प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको थियो ।

बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डिकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रुपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्नका लागि गलकोट नगरपालिकाको एक सहकारीले निलुवा लेकमा जग्गा चक्लाबन्दी गरेर खेती थालेको छ । जिल्लामा बिस्तारै जग्गा चक्लाबन्दी गरेर व्यमवसायीक खेति प्रणालीमा लैजान थालिएको छ ।

बसाई सराईले क्रमशः गाउँका जग्गाहरु बाँझो पल्टिने, जग्गाको खण्डिकरणका कारण यन्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना आएको हो ।

नगदेबालीको उत्पादन बढाउने, यन्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पाँच स्थानमा करिब ५०० रोपनी भन्दा बढी जग्गा चक्लाबन्दी गरेकोमा चालु आर्थिक वर्षमा चक्लाबन्दी योजनाका लागि पुन पाँच योजनाका लागि ५० लाख बजेट बिनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना बागलुङका बरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फर्मको साठी रोपनी र समूहको एकसय रोपनी जग्गाभन्दा माथिहुन आवश्यक छ ।

“पछिल्लो सयम कृषिमा यन्त्रिकरण भइरहेको छ, पहाडमा साना–साना खण्डकीरणका जग्गाहरु छन् भने केहीले जग्गालाई बाँझो बनाएर छोडेका छन्” उहाँले भन्नुभयो “दुई वर्ष पहिला परियोजनाले पाँच वटा चक्लाबन्दीको योजना सफल भएको छ, यो वर्ष पुन पाँच स्थानको जग्गा चक्लाबन्दी गर्ने गरी योजना माग गरेका छौं, चक्लबन्दीले नगदे बाली बढाएको छ भने संभावित बाँझो जग्गालाई घटाएको छ, बाँझो जग्गा भाडामा लिएर समेत जग्गा चक्लाबन्दी गर्न सकिने भएकाले जग्गाको उपयोगिता चक्लाबन्दीसंगै दोब्बरले बढेर जान्छ ।”

परियोजनाका अनुसार दुदीलाभाटी, ढोरपाटनमा समेत चक्लाबन्दी गरेको जग्गामा नगदे तरकारी तथा फलफूल बाली लगाइएको बताउनुभयो । चक्लाबन्दी जग्गामा अन्नबाली बाहेक जुनसुकै खेती गर्न सकिन्छ ।

चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुँने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुँने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानहरुको आर्कषण बढेको छ । चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्माउने मात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्न बाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रुपमा लिदै आएको बरिष्ठ कृषि अधिकृत पौडेलको भनाई छ । पौडेलका अनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना मार्फत ४० विभिन्न कृषि योजनामा रु। पाँच करोड बजेट बिनियोजन भएको छ ।

छपन्न जनाको बाँझो जग्गा भाडामा लिएर गलकोटको सयपत्री बहुउदेश्यीय सहकारीले १२४ रोपनी जग्गा चक्लाबन्दी गरेर परीक्षण खेती थालेको छ ।

प्रतिरोपनी वार्षिक दुई हजार भाडा तिर्नेगरी जग्गा चक्लाबन्दी गरेर खेती गर्न थालिएको सहकारीका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष गण्डकी प्रदेश सरकारको २६ लाख र सहकारीको चार लाख लागतमा १२४ रोपनी जग्गा चक्लाबन्दी गरिएको हो ।

“किसान घटाउने उत्पादन बढाउने हाम्रो योजना हो, परिक्षणका लागि केही खेती गरेका छौं, गत वर्ष चक्लाबन्दी गरेको जग्गामा यो वर्ष जमिन दबेर खाल्टाखुल्टी परेको छ, पुन जग्गा व्यवस्थित गरेर नगदेबाली लगाउनेछौं” उहाँले भन्नुभयो “अहिले लसुन तथा सिमी लगाइएको उक्त स्थानलाई यस वर्ष पुन व्यवस्थित गरेपछि खेती थालिनेछ ।”