अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर २  हजार १२८ उम्मेदवारले गराए उम्मेदवारी दर्ता

देशभर २  हजार १२८ उम्मेदवारले गराए उम्मेदवारी दर्ता


काठमाडौं – देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म ताकेको थियो ।

आयोगका अनुसार प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसअनुसार प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७,  बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५,  गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१  र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  

दर्ता भएका उम्मेदवारहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै भोलि २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।​