झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य चुनावका लागि आइतबार झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनावपछि जनताको आदेश नभएको सरकारलाई पछारेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गरिने बताउनुभयो ।
देशको भाग्य र भविष्यको फैसला गर्ने चुनाव भएको मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले मंसिर ४ को चुनावमा एमालेको जित सुनिश्चित भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मंसिर ४ को निर्वाचनबाट परमादेशबाट गठन भएको, जनताको आदेश नभएको, जनविरोधी, देशघाती गठबन्धनलाई पछारेर, देशभक्त, लोकतान्त्रिक, शान्तिको पक्षधर र विकासको अभियन्ता यस्तो सरकार गठन गर्नुपर्नेछ एमालेको नेतृत्वमा, यसका लागि यस निर्वाचनले ठूलो फैसला लिनुपर्नेछ, यसका लागि सबै तयार हौं ।’
देशका निम्ति युवा, नयाँ मतदातासहित सबैको सक्रियता आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो । विरोधीहरुले एमाले विरुद्ध अनेक कुरा लिएर भड्काउन सक्ने भन्दै उहाँले सही ढंगले अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
चुनावका बेला भ्रमपूर्ण, साम्प्रदायिक, क्षेत्रीयता र अनेक प्रकारका भ्रमपूर्ण कुराहरु विरोधीहरुले गर्न सक्ने भन्दै अध्यक्ष ओलीले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न प्रकारका भ्रमपूर्ण कुराहरु, साम्प्रदायिक कुराहरु, क्षेत्रियतावादी कुराहरु, अनेक प्रकारका अराजनीतिक कुराहरु लिएर तपाइँहरका बीचमा आउन सक्छन्, यस्तो अवस्थामा नअल्मलिएर सूर्य चिन्हमा मतदान गरेर नेकपा एमालेलाई अत्यधिक मतले विजयी गराउन सबैमा आग्रह गर्दछु ।’
अहिले पनि एमाले विरुद्ध चौतर्फि घेराबन्दी र हमला गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । जस्तोसुकै घेराबन्दीलाई पनि एमालेले तोडेर अगाडि बढ्ने अध्यक्ष ओलीले बताउनुभयो ।
मंसिर ४ को चुनावमा सहकार्य गर्न खोजेका दललाई एमालेले साथ दिएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘देशभक्त शक्तिहरु पारस्पारिक सहयोगका साथ अघि बढ्नुपर्छ भनेर झापा लगायत ठाउँमा राप्रपा लगायत दलले राखेको प्रस्ताव स्वीकार गरेर चुनावी तालमेल गरिएको छ, एमाले र राप्रपाबीच झापाका सबै क्षेत्रमा मिलेर लड्ने सहमति भएको छ, अरु केही ठाउँमा पनि यस्तै प्रकारको तालमेल हुँदैछ ।’
आफू नेतृत्वको सरकारले ३ वर्षको अवधिमा राष्ट्र,राष्ट्रियता,विकास र समृद्धिका लागि असाधारण काम गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओली भन्नुभयो ‘हामीले देश विकास गर्यौँ, गुमेको भूभाग फर्काएर नक्सा सार्वजनिक गर्यौँ, नक्सा अनुमोदन गरेर संवैधानिक रूप दियौँ, उनीहरूले आफ्ना निम्ति काम गर्ने सहयोगी (कम्फरटेबल) सरकार भइदिन्छौँ भनेर कबुल गरेर सरकार बनाए, १५ महिनामा यो सरकारले देशलाई अधोगतितर्फ लगेका छन् ।’






प्रतिक्रिया