सिन्धुपाल्चोक – नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रतिनिधि सभा निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र -२ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
मङ्सिर ४ मा हुने निर्वाचनको लागि उहाँले आइतबार सिन्धुपाल्चोक-२ को निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयन दर्तापछि नेता तामाङले सिन्धुपाल्चोक–२ का जनताको विश्वास जितेर मुलुक बनाउने केही सपना देखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोक–२ मेरो लागि मन्दिर हो, त्यो मन्दिरमा बस्ने जनता मेरा लागि भगवान् समान हुन्, तसर्थ मलाई भगवानले आशीर्वाद दिनेछन् ।’
उहाँले सातवटा काम गर्नको लागि सिन्धुपाल्चोक-२ बाट मनोनयन दर्ता गरेको बताउनुभएको छ । यस्ता छन् उहाँले मुलुक बनाउन देख्नुभएका सपना:
१. सिन्धुपाल्चोक जिल्लाको भौतिक पूर्वाधार विकासमा थप योगदान गर्न ।
२. नेपाली उत्पादनलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पहल गर्ने ।
३. नेपाली जडीबुटीहरूको खेती र उत्पादनलाई वैधानिकीकरण गर्न नेतृत्व गर्ने ।
४. ऊर्जाको विकासमा भूमिका खेल्ने र आम नेपाली जनतालाई नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुँदा घरायसी प्रयोजनको विद्युत् निःशुल्क दिने कुराको अगुवाइ र पहल गर्ने ।
५. स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य बिमालाई आधुनिकीकरण गरी बिमा विधिबाट नेपाली जनताको उपचार निःशुल्क गर्ने विषयको अगुवाइ गर्ने ।
६. Fruit Forest को अवधारणा लागू गर्ने ।
७. देशभित्रै रोजगारी सृजना गरेर वैदेशिक श्रममा जानुभएका लाखौँ युवाहरूलाई स्वदेशमा फर्काएर राष्ट्र निर्माणको महान् कार्यमा लगाउन पहलकदमी र अगुवाइ गर्न ।






प्रतिक्रिया