काठमाडौं-नेकपा एमालेका नेता विष्णु रिजालले सिंगो पार्टी पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक अरू विकल्प नरहेको बताउनु भएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले एमालेका सिंगो पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक एमालेका कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामु अर्को विकल्प नरहेको बताउनु भएको हो । उहाँले प्रभु साह जस्ता हरिया सर्पहरूबाट बच्नुपर्ने पनि बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘सत्ताधारीहरूको घेराबन्दी र षड्यन्त्रहरूका बीचबाट त्यसलाई चिर्दै नेपाली जनताको अपार विश्वास र समर्थन प्राप्त गर्ने दृढ संकल्पका साथ नेकपा (एमाले) निर्वाचनमा होमिएको छ । पार्टीले टिकट वितरण गर्दा र मनोनयन दर्ता गर्दासम्मका आन्तरिक प्रतिस्पर्धाहरू अब स्वतः समाप्त भएका छन् र नेकपा (एमाले) को सिंगो पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक नेकपा (एमाले) का कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामु अर्को कुनै विकल्प छैन । अतः हाम्रो गौरवशाली पार्टी प्रतिक्रियावादीसँग वार कि पारको लडाइँमा होमिएको बेला घुर्क्याउने, धम्क्याउने, बार्गेनिङ गर्ने, निष्क्रिय रहने, नकारात्मक कुरा गर्ने, सार्वजनिक सञ्चारमाध्यममा असन्तुष्टि व्यक्त गर्ने, कार्यकर्ता भड्काउन प्रयास गर्ने जस्ता कुनै पनि क्रियाकलाप कसैका लागि पनि क्षम्य छैनन् । अतः जो जहाँ छौँ, सक्रियतापूर्वक नेकपा (एमाले) का पक्षमा लागौँ । भविष्य हाम्रै हो । चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरूका बारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन । तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ– प्रभु साह जस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ‘रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले) का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन । जसपासँग भएको सहमतिले हाम्रो विजयलाई थप फराकिलो बनाउनेछ । अध्यक्ष कमरेड केपी शर्मा ओलीले अघि सार्नुभएको ‘सुखी नेपाली: समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई उहाँकै दृढ नेतृत्वमा सफल कार्यान्वयन गर्नका लागि २०७९ मंसिर ४ नेकपा (एमाले) का लागि मात्र होइन, यस राष्ट्रकै लागि निर्णायक दिन भएको कुरा हृदयंगम गर्दै जुटौँ । सफलता सुनिश्चित छ ।’






प्रतिक्रिया