डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध उहाँभन्दा ७ वर्ष जेठा ८४ वर्षीय रावलको स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । डडेलधुराबाटै ३१ वर्षीय सागर ढकालले पनि उम्मेदवारी दिनुभएको छ । एक टेलिभिजन कार्यक्रममा पेचिलो प्रश्न सोध्दा झर्किएका देउवाविरुद्ध उम्मेदवारी दिएका ढकालभन्दा रावलको उम्मेदवारी रोचक छ ।
देउवाले डडेलधुराबाट २०४८ पछिका सबै चुनाव जित्दै आउनु भएका छन् । उहाँ यसपटक सातौं चुनावी मैदानमा हुनुहुन्छ । संसद् छिर्ने बित्तिकै गृहमन्त्री बन्नुभएका देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री नै भइसक्नु भएको छ । तर पाँच पटक प्रधानमन्त्री हुँदा पिन डडेलधुराको विकासका लागि देउवाले केही काम नगरेको रावलको गुनासो छ । त्यही विषयलाई मुद्दा बनाएर २०५६ पछिका चुनावमा उहाँले निरन्तर देउवाविरुद्ध उम्मेदवारी दिँदै आउनु भएका छन् ।
को हुन् ८४ वर्षे कर्णसिंह रावल ?
रावल पूर्वकर्मचारी हुन् । रावल मालपोतमा कार्यरत रहँदा २०४९ सालमा सरुवाको सन्दर्भमा देउवासँग भेट गर्नुभएको थियो । तर देउवाबाट त्यसबेला सहयोग नपाएको उहाँको गुनासो छ। २०४८ मा चुनाव जितेका देउवा गृहमन्त्री हुनुभयो । २०५१ मा चुनाव जितेपछि प्रधानमन्त्री नै बन्नुभयो । तर देउवाले गृहजिल्लाको विकासका लागि केही पनि पहल नगरेको रावलको भनाइ छ। यही विषयमा रावल रुष्ट हुनुहुन्छ । चुनावको बेलामा मात्रै गाउँमा घाम जस्तै झुल्किनु हुन्छ र चुनाव जितेपछि गाउँमा देखा नै पर्नुहुन्नन विकासको त कुरै नगरौं’, रावल भन्नुभयो, ‘चुनाव जिते पनि जिल्लाको लागि केही काम गरेनन्, प्रधानमन्त्री नै भए पनि जिल्लाले केही पाएन ।’ रावल मात्र हैन जिल्लाबासी जनता नै देउवासँग रुष्ट छन् ।
२०५४ सालमा जागिरबाट निवृत्त हुनुभएपछि उहाँ निरन्तर डडेलधुरावासीले देउवाको विकल्प खोज्नुपर्ने सन्देश लिएर निरन्तर चुनावी अभियानमा लागिरहनुभएको छ । उहाँले २०५६ को निर्वाचनमा पहिलो पटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । त्यसपछि २०६४ र २०७० का निर्वाचनमा पनि उहाँले देउवाविरुद्ध उम्मेदवारी दिनुभएको थियो । त्यस्तै २०७४ को निर्वाचनमा पनि उहाँले देउवाविरुद्ध नै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
उनै रावलले यसपटक पनि देउवाको विकल्प खोज्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा ६ राजनीतिक दल र ५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमालेले चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीले श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कालीप्रसाद जोशी र नेपाली कांग्रेस बीपीले कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएका छन् । देउवाविरुद्ध विक्रमबहादुर शाही, दानबहादुर पाल र लालबहादुर कठायत पनि स्वतन्त्र उम्मेदवार छन् ।






प्रतिक्रिया