ताप्लेजुङ – मत माग्न गाउँ पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मतदाताले टिनका छानो किन नलाइदिएको भनेर प्रश्न गरेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र नं १ को सिदिङ्बा गाउँपालिकाको सादेवा पुगेका भट्टराईलाई मतदाताले पालिका केन्द्रसम्म किन पिच बाटो आएन भनेर पनि सोधेका छन् ।
भट्टराईले कैयौं पटक गाउँ जाँदा गाउँघरमा भएका फुसका छाना हटाएर टिनका छाना उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकोले निर्वाचनको मुखमा घरघर पुग्दा मतदनताले उहाँलाई प्रश्न गरेका छन् ।
योगेशले मतदातालाई छिमकीको घरमा टिन लाउँदा आफ्नोमा किन खरको छाना भयो भन्ने प्रश्नको बेलिबिस्तार जवाफ दिनुभएको छ ।

‘नेकपा एमालेको सरकारले आर्थिक वर्ष २०७५/०७६ मा नै फुसका छाना भएकाहरुलाई अनुदानमा टिनको छाना दिने नीति र बजेट पास गरेको थियो । त्यही नीति अनुसार एमालेको सरकार भइन्जेल धेरैवटा घरमा खरको छाना बिस्थापन गरेर टिनको छाना लगाइयो । तर २०७८ सालमा सर्वोच्च अदातलको परमादेशले जब गठबन्धन सरकार गठन भयो त्यसबेला देखि खरका छाना हटाउने र टिनका छाना सुरु गर्ने कार्यक्रम नै रोकियो । त्यसैले फेरी एमालेलाई मतदान गर्नुहोस । हामी यो कार्यक्रमलाई निरन्तरता दिन्छौं । अर्को वर्ष तपाईं पनि टिनको छाना भएको घरमा बस्न पाउनुहुन्छ ।’

गाउँ पुगेका योगेशलाई मतदाताले फेरी सोधेका छन्: दुईवर्ष आँउदा सबै पालिका सदरमुकाममा जाने बाटो पिच हुन्छ भन्नुहुन्थ्यो। तर अहिले त कामै अघि बढेको छैन । किन होला ?
यस प्रश्नमा पनि योगेशले एमालेको सरकार बीचैमा ढालेर सर्वोच्च अदालतले गठबन्धनको सरकार बनाइदिएकोले आफूले बोलेको काम गर्न नपाएको उत्तर दिनुभएको छ । योगेशले सादेवाका स्थानीय बासिन्दालाई भन्नुएको छ ‘सबै पालिका सदरमुकाममा पिच बाटो लैजान डिपिआर गरिरहेका थियौं । त्यसबेला हाम्रो पार्टीको सरकार ढालियो । अहिलेको सरकारले हामीले हालेको बजेट काटिदियो । त्यसैले पालिका सदरमुकाम जाने बाटाहरु पिच बनेन् । एमालेलाई मतदान गर्नुहोस अर्को वर्ष देखि यी काम हामी निरन्तर गर्नेछौं ।’

आजबाट गाउँबस्ती अभियान सुरु गर्नु भएका योगेशलाई स्थानीय बासिन्दाहरुले विकास,शिक्षा र स्वास्थ्यका बारेमा बढी जिज्ञासा राखेको जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाईंले जानकारी दिनुभयो । धेरै कामहरु केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको तर गठबन्धन सरकार बनेपछि ती सबै योजनाका बजेट कटौती गरिदिएर विकास निर्माण र शिक्षा स्वास्थ्यका कार्यक्रमहरु अलपत्र परेको योगेशले मतदातालाई बताउने गर्नु भएको छ ।

३३ दिनका ६१ कार्यक्रम
नेकपा एमाले ताप्लेजुङले चुनावी प्रचार-प्रसार कार्यक्रम ३३ दिनका लागि तय गरेको छ । एमाले जिल्ला कमिटीका अनुसार आज असोज २७ गतेबाट सादेवाबाट सुरु भएको कार्यक्रम कातिक ३० गते सदरमुकाम फुङलिङमा समापन हुनेछ । ‘तिहारको बेला पनि हामी उम्मेद्वारहरुलाई मतदातासँगको भेटघाटलाई निरन्तरता दिनेछौं’ पार्टी उपसचिव दिपेन पोमुले यो बेलासँग भन्नुभयो ‘संघीय र प्रदेशका तीनै जना उम्मेद्वारलाई आफ्नो निर्वाचन क्षेत्रमा अहोरात्र खटाउने र जनतासँग भेट गराउने हाम्रो तयारी छ ।’












प्रतिक्रिया