अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अत्याधुनिक दमक सभाहल सञ्चालनको तयारी 

अत्याधुनिक दमक सभाहल सञ्चालनको तयारी 


झापा-कुनैपनि क्षेत्रको विकास भनेको त्यो क्षेत्रको पूर्वाधार विकासलाई लिन सकिन्छ । पछिल्लो समय झापाको दमक नगरपालिका अहिले देशमै चर्चाको शिखरमा रहेको छ । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि यस क्षेत्रका ठुला ठुला विकास योजना निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको क्रममा रहेका छन् । दमकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गौरवका यस्ता आयोजना मध्येको एउटा दमक सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । 

भवन निर्माणको काम सम्पन्न भएपनि यसको आन्तरिक साजसज्जा र विद्युत्, पानी बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेका छन् । विकासले परिवर्तन भएको मानिसको जीवन शैली अनुसार हरेक विकासले आधुनिकता तिर लम्किएको अनुभव गराउँछ । यो क्षेत्रमा तीव्र रूपमा भएको विकास निर्माणले यो क्षेत्र नयाँ युगमा प्रवेश गरेको सबैमा अनुभूति भएको  स्थानीय मिना श्रेष्ठले बताउनुभयो । सबै क्षेत्रमा भएको विकाससँगै दमकमा देशकै भव्य सभाहल समेत निर्माण सम्पन्न भएको छ । 

दमक नगरपालिका ९ स्थित सभाहल देशकै नमुनाको रूपमा रहेको जनाइएको छ । दमक नगरपालिका भित्र निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न दमक सभाहल विकासको एक बिम्बको रूपमा मानिएको छ । पुरैसभाहल भित्र वातानुकूलित सिस्टम जडान गरिएको छ । चारवटा ब्लकलाई जोडेर निर्माण गरिएको सभाहलमा एउटा ठुलो हल १५ सय जना मानिस अटाउने क्षमता रहेको हल छ भने सानो २ सय ५० जना अटाउने क्षमता रहेको जनाइएको छ । त्यस्तै हल भित्र नै भव्य रेस्टुरेन्ट समेत रहने छ । 

स्थायी रूपमा डिजिटल साउण्ड सिस्टम जडान गरिएको छ । त्यस्तै पुल साउण्ड प्रुफ हुने छ । दमक सभाहल भवन २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाँमा सम्पन्न भएको जनाइएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम मार्फत निर्माण सम्पन्न भएको हो । 

सभाहलमा आधुनिक प्रविधि समेत जडान गरिएको जनाइएको छ । सभाहल निर्माणका लागि लगभग एक बिगाहा क्षेत्रफलमा घेरवार गरिएपनि भवन लगभग ८ कठ्ठा क्षेत्रमा निर्माण सम्पन्न भएको इन्जिनियर महासेक चौधरीले जानकारी दिनुभयो । दमक नगरपालिका मातहतमा रहने उक्त सभाहल चाडै सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।