अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घर-घरमा पुग्दै एमालेका उम्मेदवार  

घर-घरमा पुग्दै एमालेका उम्मेदवार  


उदयपुर – सत्तारुढ गठबन्धनका उम्मेदवार बागी मिलाउन व्यस्त रहेको बेला नेकपा एमालेका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । प्रतिनिधिसभाका दुवै क्षेत्र र चार वटै प्रदेशका उम्मेदवारले पहिलो चरणको वडा स्तरीय र घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । 

चाडपर्वको शुभकामना आदान-प्रदान र चियापान कार्यक्रमको नाम दिएको एमालेले प्रारम्भिक चरणमा मतदातासँग भेटघाट सम्पन्न गरेको जनाएको छ । एमाले उदयपुर जिल्ला अध्यक्ष परमेश्वर घिमिरेका अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा निर्वाचन आयोगले चुनाव प्रचार-प्रसारलाई दिएको समय सीमा अनुसार बिहीबारदेखि उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

 उहाँले भन्नुभयो, ‘दुवै क्षेत्रमा पार्टी जिल्ला कमिटीले मूल आयोजक कमिटीसमेत परिचालन हुने गरी कार्यक्रम तय गरेको छ । त्यहीँअनुसार नेता कार्यकर्ता परिचालन हुनुभएको छ ।

क्षेत्र-१ अन्तर्गत प्रतिनिधिसभाका सदस्यका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्य १ का उम्मेदवार कुशलबाबु बस्नेत र २ का उम्मेदवार इश्वरमणि राउत, क्षेत्रनं २ अन्र्तगत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझी, प्रदेशसभा सदस्य १ का उम्मेदवार देवराज राई र २ का उम्मेदवार जिवनाथ दाहाल मतदाताको घरदैलोमा पुगेको उहाँले बताउनुभयो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति उम्मेदवार बनेपछि पहिलोचरण सकेर दोस्रोचरणको कार्यक्रममा जुटेका हुन् । उत्साहजनक उपस्थितिकासाथ घरदैलोमा पुगेका क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझीले विजयी सुनिश्चित रहेको बताउनुभयो । 

उद्देश्य र लक्ष्य विहीन बनेको गठबन्धनको भविष्यप्रति जनतामा विश्वास नरहेकाले विकास र समृद्धिका लागि जनताले एमाले रोजेको उहाँले बताउनुभयो । यता निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धन दलहरुबीच मनमुटाब अझ चर्किँदै गएको छ । बागी उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि उनीहरू थप समस्यामा परेका हुन्  ।

 अधिकांश गठबन्धनका उम्मेदवार निर्वाचनमा मतदाताको घरमा पुगेर भोट माग्नेभन्दा पनि बागी उम्मेदवार फकाउने र रिझाउनेमा व्यस्त देखिएका छन् । लोकप्रिय नेताहरू बागी उम्मेदवार बनेपछि गठबन्धन भित्र खैलाबैला सुरु भएको हो । 

त्यति मात्र नभई स्थानीय तहको निर्वाचनमा देशव्यापीरुपमा गठबन्धन भइरहँदा त्रियुगा, कटारी र चौदण्डिगढी नगरपालिका क्षेत्रमा एकले अर्काको अस्तित्व स्वीकार नगरी नेताहरू नै हराउन लागेपछि गठबन्धन भित्र विश्वास टुट्दै गएको एकथरीको विश्लेषण छ । 

‘सहयोग गर्ने मनस्थिति हुँदा पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई हराउन लागेकाहरूको याद झलझली आउँदो रहेछ, त्यसैले यो पटकको निर्वाचन भन्न सक्ने अवस्था छैन, नाम नबताउने सर्तमा एक युवा नेताले बताउनुभयो । घरदैलो कार्यक्रममा प्रत्यक्षतर्फmका उम्मेदवारकारसाथमा समानुपातिक उम्मेदवारहरू सृजना दनुवार र गीतादेवी रेग्मीसमेत उपस्थिति रहेको छ । उक्त कार्यक्रममा वडा, नगर, प्रदेश र क्षेत्रका अध्यक्ष र अन्य शुभेच्छुकहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ ।