धनकुटा-यतिवेला धनकुटाको चुनावी माहोल तातिएको छ । चिसो बढ्दै गएपनि धनकुटामा चुनावी माहौल तातिएको छ । मंसिर ४ गते नजिकिएसँगै कसले जित्छ भनेर अड्कलबाजी गर्ने समूह समेत बढेका छन् ।
धनकुटामा यसपटकको निर्वाचनमा पुरानै अनुहार र पार्टीबीच कडा प्रतिस्पर्धी हुने देखिन्छ । जिल्लामा करिब ४९ प्रतिशत एकल मतदाता रहेको नेकपा एमालेलाई गठबन्धन फुटाएसँगै सहज बन्दै गएको छ । नेकपा माओवादीमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा ठुलो समूहको विद्रोहपछि ढलमलिएको गठबन्धनबाट जसपा बाहिर गएपछि पराजयको सँघारमा पुगेको छ ।
धनकुटामा एमालेको तर्फबाट केन्द्रीय सदस्य राजेन्द्र राई प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिनुभएको छ । २०७४ सालको निर्वाचनमा सांसद निर्वाचित भएका राईले आफूले गरेका विकास निर्माणका काम र जनताको सेवालाई चुनावी एजेण्डा बनाउनुभएको छ । उहाँ सांसद भएपछि जिल्ला घुमिरहने नेतामा पर्नुहुन्छ । यही कारण जित सुनिश्चित रहेको राईको दाबी रहेको छ ।
राईसँग प्रतिस्पर्धा गर्न गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा मैदानमा उत्रिनुभएको छ । पुराना कांग्रेसका नेतालाई पछि पर्दै राप्रपाबाट आएका थापाले केन्द्रीय नेताको पहुँचको आधारमा टिकट पाउनुभएको हो । उहाँले आफूले गरेका कामभन्दा पनि स्वर्गीय बुबा सूर्यबहादुर थापाको नाम र कामलाई चुनावी एजेण्डा बनाउनुभएको छ । गठबन्धन भएका जित हुने दाबी थापाको रहेको छ ।
धनकुटामा राई र थापाबीच यो तेस्रो भिडिन्त हो । २०७० सालको निर्वाचनमा राप्रपाबाट बुबा थापाको पहलमा झिनो मतान्तरले विजयी हुनुभएका थापा २०७४ सालमा पराजित हुनुभएको हो । कांग्रेस जसपा र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नुभएका थापालाई एमाले उम्मेदवार राईले करिब ११ हजार मतान्तरले हराउनुभएको थियो ।
यसपटक थापासँग कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीको तालमेल र साथ रहेको छ । एमाले एक्लै चुनावी मैदानमा रहेपनि जसपाको मत सुर्य चिन्हमा दिने सहमति भएको छ । यी दुई उम्मेदवारको भिडन्तमा तेस्रो शक्तिको रूपमा स्वतन्त्र उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले टक्कर दिनुभएको । उहाँले जिल्लामा युवा र विकास एजेण्डा ल्याउन सक्ने नेताको रूपमा छवि बनाएकाले स्वतन्त्र मतदाताको आकर्षण उनीसँग देखिएको छ । उहाँलाई माओवादी केन्द्रका मतदाता बाहेक एमाले, कांग्रेस, जसपा, नेकपा एस र केही जातीय मत समेत जाने अवस्था रहेको छ ।
यससँगै राप्रपाबाट कुमारबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ सूर्यबहादुर थापाको सबै चुनावको कमाण्डर हुनुहुन्थ्यो । तर सूर्यबहादुर थापाको मृत्युपछि छोरा सुनिलबहादुरले कांग्रेस रोजेका उहाँले राप्रपा पुनर्गठन गरेर चुनावी अभियानमा जुट्नुभएको छ । हेमराज भण्डारी र कुमारबहादुर थापाले काट्ने ९० प्रतिशत मत एमालेलाईका उम्मेदवार नजाने मत हो । यो मत कांग्रेस उम्मेदवार थापालाई जाने अवस्थामा यी दुईजनाको उम्मेदवारीले धनकुटामा एमालेलाई सहज देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा धनकुटामा एमालेको ३६ हजार ३३६ मत रहेको छ । कांग्रेसको २८ हजार १८२, माओवादी केन्द्रको ५ हजार ४५८, जसपाको २ हजार २९२ र नेकपा एसको १ हजार ७२८ मत देखिएको छ । राप्रपाले धनकुटाको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको थिएन ।
जसपा गठबन्धनबाट बाहिरिएकाले गठबन्धन एमालेभन्दा एक हजार मतले पछि परेको छ । यसमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले माओवादी केन्द्रको आधा मतमात्रै प्राप्त गरे गठबन्धन ४ हजारभन्दा बढी मतले पछि परेको अवस्था रहेको छ । योसँगै राप्रपाका उम्मेदवार कुमारबहादुर थापाले प्राप्त गर्ने मतपनि गठबन्धनकै मत हो । एमालेलाई कहिल्यै नआउने यो मत पुराना राप्रपाका कार्यकर्ताको हो । जुन मत करिब ३ हजारको हाराहारी रहेको छ ।







प्रतिक्रिया