जाजरकोट-नलगाड नगरपालिका–८ का हरिबहादुुर खत्री तोरी बारीमा सिँचाइ गर्न व्यस्त हुनुहुन्छ । उहाँलाई चुनावको विषयमा भन्दा पनि तोरी उत्पादन राम्रोसँग गर्न सिँचाइको कामम व्यस्त हुनुहुन्छ ।
तीन मुरी तोरी फल्ने उहाँको खेतबारीमा सिँचाइ गर्न कम्तीमा पाँच दिन लाग्छ । सिँचाइको काम पछि तोरीमा उम्रिएको झार हटाउन एकहप्ता लाग्ने खत्रीको भनाइ छ । “अघिल्लो चुनावमा प्रचारमा जाउ भनेर नेताले फोन गर्थे, अहिले खासै केही कुरा भएको छैन”, उहाँले भन्नुभयो । उहाँ थप्नुहुन्छ, “चुनाव पाँच वर्षमा आउँछ, खेतबारीको उत्पादनले हर समय काम लाग्छ । यहीँ उत्पादन बिक्री गरेर दैनिक समस्या टार्नुपर्छ ।” बिहान भोट खसालेर दिनभरि अरु काम गर्नुपर्छ । अहिले जिन्दावाद र मुर्दावादतीर लागेर गाउँ घरमा सम्बन्ध तितो बनाउन जरुरी नभएको खत्रीले थप्नुभयो ।
उहाँ जस्तै अर्का बारेकोट–५ का प्रेम शाहीलाई दैनिक नेताले प्रचारप्रसारमा जानका लागि फोन गर्छन् । मैले खानेपानीको लागि पटकपटक माग गरे तर अहिलेसम्म खानेपानी दिएनन् अनि किन लाग्ने पछि पछि ? भेरी नगरपालिका–५ का सेते बस्नेत भारत कमाइ गर्नका लागि निस्कीसक्नुभयो । उहाँको घरमा ५६ वर्षकी आमा, दुई छोरा र एक छोरी मात्र हुनुहुन्छ । श्रीमती लिएर भारतमा जानुभएका बस्नेत चैतमा मात्र फर्कने योजना रहेको उहाँको आमा पानमती बस्नेतले बताउनुभयो ।
नातीनातिनीलाई पढाउने पैसा छैन । “छोराबुहारी पढाउने पैसा कमाउन भारत गएका छन्”, पानमतीले भन्नुभयो । तिहार मनाएर बस्नेतसँगै गाउँका २३ जना भारत पुगिसकेको छन् । भारतमा पुगेर छोराले फोन गरेको पानमतीले बताउनुभयो । उहाँहरु त प्रतिनिधिमूलक पात्र मात्र हुनुहुन्छ । जाजरकोटका सातै स्थानीय तहमा चुनावको गतिविधि बढेपनि यसप्रतिको उत्साहमा त्यतिसारो उत्साह देखिदैन ।
विगतमा जस्तो भड्किलो पनि यसपटकको प्रचारमा देखिदैन । निर्वाचन आचारसंहिताका कारण सबै व्यक्तिहरु चनाखो भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
कर्मचारी तथा शिक्षकले सामाजिक सञ्जालमा लेख्न सुरु गर्ने वित्तिकै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि अहिले सबै चुप लागेर बसेको शाहको भनाइ छ । गाउँमा पहिलेको जस्तो नारा जुलुस नभएको उहाँको भनाइ छ । उम्मेदवारले सात जनाको सानो सङ्ख्यामा आफूसँग टोली लिएर टोलटोलमा भेटघाट, छलफल लगाएको काम गरिरहेको पाइएको छ । चुनाव खर्चिलो भएपछि खर्च धान्न गाह्रो हुँदा उम्मेदवारले घरदैलोमा सानो समूह बनाएर भेटघाटलाई तीव्रता दिएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेत अधिकांश समय पार्टीको कार्यकर्तामा बस्ने, स्थानीय स्रोत साधनको प्रयोग गर्ने गर्नुहुन्छ । सबै उम्मेदवारले आयोजना गरेको चुनावीसभामा सर्वसाधारणको सहभागिता कम देखिएको छ । भेरी नगरपालिका–३ रामकुमार ओलीले जनता सचेत भएकाले कही कतैबाट भोटका लागि बाध्य पार्ने काम नभएको बताउनुहुन्छ । कुशे गाउँपालिका–५ का साने नेपालीले सबै अरुले भनेको गर्नुपर्छ भने हामी किन अनाआवश्यक चुनावमा खटिने भन्नुहुन्छ ।







प्रतिक्रिया