सुर्खेत – कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ४ बुँदे सहमति भएको छ । नेकपा माओवादी केन्द्रबाट नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलबीच चारबुँदे सहमति भएको हो ।
माओवादी र एमालेको सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिनुभयो ।
शर्मा र कँडेलबीच ८ रहेको मन्त्रालय घटाएर ७ कायम गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ४ माओवादी र ३ नेकपा एमालेले लिने सहमति भएको छ ।
मुख्यमन्त्रीमा माओवादीका शर्माले नियुक्त भइसक्नुभएको छ। उहाँले भोलि पद तथा गोपनीयताको शपथ गर्नुहुनेछ ।
४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकएक जना छन्।
शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा र नेकपा एस गरी २५ सांसदको समर्थन छ । माओवादी पोलिटव्युरो सदस्य शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।







प्रतिक्रिया