गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भएपनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताउनुभएको छ ।
युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको भनाइ उहाँको छ ।
रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उहाँले उनीहरूलाई जोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उहाँको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गर्नुभयो ।
कोरोनाले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । “आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहले राष्ट्रलाई एक बनाएको दिन, सरकारले पनि सार्वजनिक बिदा दिएको छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सबैले सम्झनुपर्ने बताउनुभयो ।”
आजदेखि सञ्चालन हुने उक्त महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना भनाइ राख्नुभएको थियो । महोत्सवको उद्घाटनअघि यस क्षेत्रका विभिन्न सङ्घसंस्था तथा टोल तथा आमा समूहले झाँकीसहित बजार परिक्रम गरेका थिए ।






प्रतिक्रिया