धनगढी-नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समीक्षा गरिएको छ । बुधबार टीकापुरमा कैलालीको अभियानको समीक्षा गरिएको हो ।
कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले नौ लाख सदस्य रहेको एमालेले चुनावमा बहुमत ल्याउन नसकेपछि अवस्था बुझ्न मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।
सचिव भट्टले पार्टीका विचार, सिद्धान्त थाहा नपाई पद पाउन र धन्धा चलाउन लागेको व्यक्ति एमाले हुन नसक्ने भएकाले अब भौतिक उपस्थितिमा मात्रै सदस्यता नवीकरण गराउन लागेको र नयाँ सदस्यता विधानअनुसार मात्रै दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारका बारेमा टिप्पणी गर्दै सचिव भट्टले टाउकाको मूल्य तोक्ने र तोकाइ खाने एकै ठाउँमा धेरै दिन टिक्न नसक्ने र छिट्टै एमाले सरकार पक्ष हुनसक्ने पनि बताउनुभयो ।
एमाले पोलिटव्यूरो सदस्य तथा कैलाली क्षेत्र नम्बर १ मा खटिनु भएकी नेता निरू पालले मिसन ग्रासरुट कार्यक्रममा आधा जति जिल्ला सदस्य र प्रदेश सदस्यहरू खटाइएको ठाउँमा नदेखिएको बताउँदै कार्यक्रममा नदेखिने र कागजमा सीमित पार्टी नेता आवश्यक नभएको बताउनुभयो ।
प्रदेश कमिटीका सदस्य मनोज खड्काले लामो समय इमानदार भएर काम गर्दा पनि न्याय नपाएका गुनासाहरू अब व्यवस्थापन हुँदै जाने बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले पार्टीलाई जनताको घरघरमा पुर्याउने उद्देश्यले दुई महिने मिसन ग्रासरूट चलाइरहेको भए पनि उद्देश्य अनुसारको प्रगति हुन नसकेको बताउनुभयो ।
जिल्ला सचिव डेजी पाण्डेले हरेक वडामा खटाइएका सबै जिल्ला प्रतिनिधिले राम्ररी काम नभएकोले बाँकी अवधिमा अझै खटेर काम गर्नुपर्ने, वडातहसम्म पार्टी कार्यकर्तालाई प्रशिक्षण र संगठित सदस्यता नवीकरण आवश्यक रहेको बताउनुभयो ।






प्रतिक्रिया