अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनी छिद्र टाल्न मेरो उम्मेदवारी: सर्वेन्द्र खनाल

कानूनी छिद्र टाल्न मेरो उम्मेदवारी: सर्वेन्द्र खनाल


काठमाडौं – वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले कानूनका छिद्रको उपयोग गरेर गरिने अपराध नियन्त्रण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ। 

आज नेकपा एमाले बन्दिपुर गाउँपालिकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले कानूनको छिद्रलाई उपयोग गर्दै अपराध गर्नेहरूको एक एक लिष्ट आफूसँग भएको बताउनुभयो । आफ्नो मुख्य ध्यान कानूनका छिद्र टाल्नेमा केन्द्रित रहेको उहाँले बताउनुभयो । ‘त्यसका लागि संसदमा पुग्न आवश्यक छ, त्यसैले म प्रतिनिधि सभा निर्वाचनको मैदानमा आएको हुँ’, खनालले भन्नुभयो । 

खनालले प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, सुशासन, भ्रष्टाचार नियन्त्रण, गुण्डाराजको अन्त्य, मिटरब्याजीलाई निस्तेज पार्न, विद्युत् चुहावट, म्याच फिक्सिङ, मानव बेचबिखन, दाइजो प्रथा जस्ता कुरीति र अपराध नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो । त्यस्ता अपराधीको विरुद्ध प्रहरीले मुद्दा चलाए पनि कानुनका छिद्र प्रयोग गरेर उनीहरूले उन्मुक्ति पाउने गरेको उहाँले सुनाउनुभयो। 

त्यस्ता  अपराधी अहिले पनि राजनीतिको मूलधारमा रहेको उहाँले बताउनुभयो । त्यसको एक एक हिसाब आफूसँग रहेको उहाँले दाबी गर्नुभयो । 

खनालले राजनीतिमा सुद्धिकरणको लागि आफू राजनीतिमा प्रवेश गरेको बताउनुभयो । राजनीतिमा भएको विकृतिको अन्त्य र तनहुँको विकास आफ्नो प्राथमिकतामा रहेको उहाँले प्रष्ट पार्नुभयो। 

आफू सांसद बनेपछि अपराधीलाई कडा कारबाही गर्ने कानुन बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देश र जनताको लागि काम गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नरहेको उहाँले प्रष्ट पार्नुभयो।