अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अहिले पनि सबैभन्दा बलियो पार्टी हो: ओली

एमाले अहिले पनि सबैभन्दा बलियो पार्टी हो: ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गर्नु भएको छ ।

पार्टी निकट अखिल नेपाल महिला संघको आज काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताउनु भयो । उहाँले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले फेरि पनि जुरुक्क उठेको छ। अरुभन्दा अलि बलियो, अरुभन्दा अघि ब्यापक, अरुभन्दा अघि अग्लो त्यसरुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरुको निष्ठाले काम गरेको छ ।’

पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो । उहाँले भन्नुभयो, ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु– आज दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन् । अनमेसंघ र अरु संगठनहरु पनि सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदी बहिनीहरुको योगदान धेरै छ ।’