अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति र राज्यप्रतिको अपेक्षालाई सम्बोधन गर्छौं: किरण पौडेल

राजनीति र राज्यप्रतिको अपेक्षालाई सम्बोधन गर्छौं: किरण पौडेल


नेपालगञ्ज – राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले संघको महाधिवेशन केवल नेतृत्व चयनको विषय मात्र नभएको बताउनुभएको छ। 

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी सन्दर्भमा आइतबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले नेपाली युवा आन्दोलनले नयाँ पुस्तालाई दिएको कार्यभार कसरी बहन गर्ने भन्ने विषय महाधिवेशनको प्रमुख विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नवजवान युवाको राजनीति र राज्य प्रतिको अपेक्षालाई सम्बोधन गर्ने दिशा तर्फ अगाडि बढ्ने छौँ ।’ 

नेपालको राजनीति र राजनीतिक दलबाट नयाँ पुस्ताका युवालाई विमुख बनाउने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो । युवामा देखिएको निराशा अन्त्य गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने कार्यभार राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेको काँधमा आएको पौडेलले बताउनुभयो । देश र युवाको परिवर्तन नेकपा एमालेबाट मात्र सम्भव भएको उहाँले दाबी गर्नुभयो । 

महाधिवेशन समग्र नेपाली युवा र नेपाल विकासको आधार तयार गर्ने थलोको रूपमा रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यसैले महाधिवेशन सफल बनाउनको लागि सबैलाई सहयोग गर्न उहाँले आह्वान गर्नुभयो। 

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन सोमबारबाट नेपालगञ्जमा सुरु हुँदै छ । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।