अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको रक्षाको निम्ति युवा संघ टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्छ: विष्णु पौडेल

देशको रक्षाको निम्ति युवा संघ टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्छ: विष्णु पौडेल


नेपालगंज-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्ने बताउनु भएको छ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालञ्जमा सम्बोधन गर्दै पौडेलले सबै कुरा हुँदा पनि नेतृत्व सही भएन भने संगठन गन्तव्यमा नपुग्ने बताउनुभयो।

राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पुर्‍याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गर्नुभयो । युवा संघले सबै विधाका युवालाई नेतृत्व दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो।

सबै सृजनशील युवाको आशा र भरोसाको केन्द्र राष्ट्रिय युवा संघ नेपाल हुने पर्ने उहाँले बताउनुभयो। हरेक वर्ग, क्षेत्र र समुदायका युवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्दछ।’

देशलाई जुन हिसाबले अघि बढाइँदै छ त्यसको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्र, राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ ।’

पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्ध सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार गर्नुपर्ने बताउनुभयो।