काठमाडौँ-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा जारी छ । हिजो भव्य समारोहमा उद्घाटन भएको महाधिवेशन भोलि सकिने छ ।
उद्घाटन समारोहमा देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधिसहित १० हजार बढी नेता कार्यकर्ता सहभागी भएको युवा संघले जनाएको छ ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष किरण पौडेलले महासचिवको तर्फबाट राजनीतिक र कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि आज सुझाव संकलन गरी पास गर्ने जनाइएको छ ।
नयाँ नेतृत्व चयनका लागि एमाले स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा समिति बनाइएको छ । अध्यक्षमा ३ जनाको दाबी रहेपनि निवर्तमान महासचिव क्षितिज थेवेको सम्भावना बलियो रहेको जनाइएको छ ।
यस्तै नेतृत्व चयन सहज होस् भनेर प्रत्येक जिल्लालाई केन्द्रीय कमिटीको कोटो छुट्टाइएको छ । जिल्ला र प्रदेशले अलग अलग समूहमा छलफल थालेका छन् ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको आजको बन्दसत्र अहिलेसम्म पनि सुरु हुन सकिएको छैन ।






प्रतिक्रिया