काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनु भएको छ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। महासचिव पोखरेलले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेले संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भयो। क्रान्तिकारीका लागि संविधान अगाडि बढ्नका लागि सहज हुन्छ भने मान्ने हो। सहज हुँदैन भने बदल्ने हो। संविधान कुनै लकिरका फकिर होइन। बदल्न नमिल्ने चिज पनि होइन।’
सिङ्गो आन्दोलनलाई संविधानवादको जंजालभित्र राखेर व्याख्या गर्न नमिल्ने महासचिव पोखरेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सिङ्गो आन्दोलनलाई संविधानवादको जंजालभित्र राखेर व्याख्या गर्न गर्न खोजिँदै छ। अहिले पनि नेताहरू त्यही व्याख्या गरिराख्नुभएको छ। एमालेले संविधान मानेन भनेर संविधान नमान्ने घोषणा गर्नेसँगै सहकार्य गरिराख्नुभएको छ। यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो कि नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ति हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो । क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भने मान्ने हो, सैह्य हुँदैन भने बदल्ने हो ।’
महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाउनुभयो । महासचिव पोखरेलले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने समेत बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘जसले घोषित रुपमा संविधान नै मान्दैन, उनीहरुसँग सहकार्य गर्ने, संसदीय मूल्य, मान्यताभित्र अभ्यासमा रहेको चिजलाई अभ्यास गर्ने सन्दर्भमा प्रहार गर्ने । जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो । त्यो विशेषतामाथि प्रहार गर्ने, संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने । हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने । यो भन्दा अर्को मजाकको विषय के हुनसक्छ ?’
उहाँले सत्तारुढ दलहरुले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाउँदै राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको बताउनु भयो ।






प्रतिक्रिया