काठमाडौं – राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अब युवाहरू नयाँ कार्यदिशा र योजनाका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ।
राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदमा निर्वाचित भए लगत्तै थेबेले राष्ट्रिय युवा संघ नेपालले नेपालका युवामा नयाँ तरङ्ग ल्याउने गरी काम गर्ने बताउनुभयो । सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएपछि थेबेले भन्नुभयो, ‘राष्ट्रिय युवा संघ नेपाल समृद्ध नेपाल निर्माणको अभियानमा, राष्ट्रियताको अभियानमा युवाहरूलाई नेतृत्व गरेर गोलबन्द गरेर अघि बढ्छ ।’
युवालाई दक्ष र तालिम प्राप्त बनाउनु पहिलो आवश्यकता रहेको उहाँले बताउनुभयो । यसले युवालाई आत्म निर्भर र स्वरोजगार बन्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल सधैँ युवाको हक हितमा काम गर्ने युवाहरूको संगठन भएको थेबेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघ नेपालको आवाज युवाको आवाज हो।’
समय र परिस्थिति परिवर्तन अनुसार युवाको माग पनि परिवर्तन हुने थेबेले बताउनुभयो । युवाको माग सम्बोधन गर्न सकिएन भने युवालाई संगठित गर्न नसकिने उहाँको भनाइ छ ।
आफूलाई महाधिवेशनका सबै प्रतिनिधिले सर्वसम्मत रूपमा निर्वाचित गरेको बताउँदै महाधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग भएको थेबेले बताउनुभयो ।






प्रतिक्रिया