काठमाडौं – नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न गठित वार्ता कमिटीले आज आइतबार दुई पक्षीय वार्ता गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बिहान नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासँग नेता रावलको वार्ता भएको छ।
वार्ताबारे जानकारी दिनुहुँदै नेता रावलले भन्नुभयो, ‘आज विहान करिब दुई घण्टाभन्दा बढी समय संवाद भयो, सकारात्मक संवाद भएको छ ।’ परिणाम निकाल्ने गरी पुनः अर्को दिन संवाद गर्नेगरी आजको बैठक सकिएको नेता रावलले बताउनुभयो।
‘मैले आफ्नो विषय संक्षेपमा राखें, उहाँहरुले पनि पार्टीको तर्फबाट आफ्नो कुरा राख्नुभयो, अर्को बैठकमा पुनः सो विषयमा छलफल गर्ने कुरा भएको छ’ उहाँले भन्नुभयो, ‘आज पहिलो वार्ता भएकाले अर्को बैठकमा अझ खुलस्त छलफल होला, सकारात्मक परिणाम आउनेमा म आशावादी छु ।’
नेता रावलसँग वार्ता गर्न एमाले पदाधिकारी बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटी गठन गरेको थियो । वार्ता कमिटीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य रहनुभएको छ ।







प्रतिक्रिया