काठमाडौँ-नेकपा एमालेको मिसन ग्रास रुट अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको छ । दुई महिना अघि सुरु भएको अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो ।
एमाले केन्द्र पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७, सुदूरपश्चिममा १० र ११ गते समीक्षा बैठक हुनेछ ।
यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेशमा समीक्षा बैठक हुने अधिकारीले जानकारी दिनुभयो । यसैगरी वैशाख १९ र २० गते बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठकको तयारी रहेको अधिकारीले जानकारी दिनुभयो ।
प्रदेशका समीक्षा बैठकमा महासचिव शंकर पोखरेल उपस्थित हुने, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समीक्षा बैठकमा जाने एमालेले जनाएको छ ।
एमालेले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिने मिसन ग्रास रुट अभियान चलाएको हो ।
केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्य, प्रदेश, जिल्ला सदस्यहरुलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश, जिल्ला र पालिकामा पठाएको थियो । उपाध्यक्षहरुलाई प्रदेश, सचिवहरुलाई प्रदेशका जिल्ला, केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइएको थियो ।
यस्तै वैशाखको अन्तिम वा जेठको पहिलो हप्ता पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीले मध्य पहाडमा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि मंसिरमा मध्यपहाडी लोकमार्ग मार्फत मेची महाकाली अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।






प्रतिक्रिया