सुर्खेत- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेले दुई महिना देखि सञ्चालन गरेको मिसन ग्रास रुट अभियानले पार्टीभित्र भएका रोगको पहिचान गर्ने बताउनुभएको छ ।
रिमालले सामाजिक सञ्जालमा लेख्दै दुई महिनादेखि जारी यो अभियान पार्टी भित्रको समस्या फाइण्डिङ्समा केन्द्रित रहेको बताउनुभएको छ ।

मिसनको समिक्षाको लागि सुर्खेतमा पुग्दा एकजना सहभागीले राखेको जिज्ञासा उल्लेख गर्दै रिमालले कुनैबेला एमालेले काकडभिट्टामा सुसेल्दा कञ्चनपुरमा सुनिने गरेकोमा अहिले किन त्यस्तो अवस्था छैन भनेर सोधेको बताउनुभएको छ । रिमालले अभियान मार्फत यस्तै यावत ‘किन’ भन्ने प्रश्नको जवाफ खोजिरहेको उल्लेख गर्नुभएको छ । उहाँले एमाले कार्यकर्तालाई अरुले यसो गर्याे उसो गर्यो भन्ने छुट नरहेको बरु ति सबै तिकडमलाई उछिन्नु पर्ने चुनौति रहेको बताउनुभएको छ ।
मिसन ग्रास रुट अभियानलाई रिमालले एमालेको सो सर्चिङ मिसन अर्थात आफ्नै क्षमताको पहिचानको अभियानको संज्ञा दिनुभएको छ ।
रिमालले सञ्जालमा लेख्नु भएको पूर्ण पाठ यस्तो छ :
आफैंसंगको प्रतिस्पर्धामा जित्नेले सायद कसैंसंगको प्रतिस्पर्धामा पनि हार्नु पर्दैन । तर अरुलाई प्रतिस्पर्धामा उछिन्न चाहनेले अर्काको शक्ति र दाउपेच भन्दा पहिले आफ्नो शक्ति पहिचान गर्न सक्नुपर्छ । आफ्नो क्षमता यत्ति हो, आफ्नो दुर्बलता यत्ति छ, आफ्ना सामुन्ने देखिएका संभावनाहरु यी/यी हुन् र सफलताको बाटोमा रहेका तगाराहरु यस्ता/यस्ता छन् भन्ने बिषय जसले ठीक/ठीक पत्ता लगाउँछ, उसैले प्रतिस्पर्धामा बाजी मार्छ ।
अहिले एमाले आत्मपरीक्षणमा व्यस्त छ । ‘मिसन ग्रासरुट’ नाममा झण्डै २ महिनादेखि चर्चामा रहेको एमालेको ‘होल–बडी चेकअप’ कार्यक्रममा ‘फाइन्डिङ्स’को जानकारी लिन हामी अहिले कर्णाली प्रदेशको ‘क्यापिटल–सिटी’, सुर्खेतमा छौं । एकजना सहभागीले सोध्नु भयो– ‘कुनै समय एमालेले काकडभिट्टामा सुसेल्दा त्यसको तरङ्ग तत्काल कञ्चनपुरमा गुञ्जिन्थ्यो । अहिले जिग–ज्याग किन? एमालेको तरङ्ग लयमा सुनिंदैन किन?
हामी अहिले त्यही ‘किन’को उत्तर खोजी रहेछौं । ‘फलानोले यस्तो गर्यो, चिलानोले त्यस्तो गर्यो … र, यस्तो भयो’ हामीले खोजेको उत्तर होइन । यसले हाम्रो सामर्थ्य चिनाउँदैन। हाम्रा प्रतिस्पर्धीहरु– ‘फलाना, चिलाना, ढिस्काना … ’हरु हुन भने स्वभाविक हो उनीहरुले त आफ्ना प्रतिस्पर्धीलाई उछिन्न जानेको सबैथोक गरि हाल्छन नी! हामीले त आफूलाई पानी दर्के पनि, असिना बर्षे पनि … … या भनौं जस्तो सुकै हावाहुरी चले पनि सतिसाल झैं ठिङ्ग पो उभ्याउन सक्नुपर्छ!
त्यो कसरी? ‘कसरी’को जवाफ कर्णालीका कमरेडहरु हिजोदेखि खोज्दै हुनुहुन्छ । भोली र पर्सी लुम्बिनीका साथीहरु हाम्रो प्रतिक्षामा हुनुहुनेछ । यो प्रकृया सुदूरपश्चिम, गण्डकी, मधेस, कोशी र बागमती प्रदेश हुँदै २२ गते काठमाडौं उपत्यकामा आएर टुङ्गिने छ ।
मिसन ग्रासरुट अर्थात् एमालेको सोल–सर्चिङ मिसन!
आफूद्वारा आफ्नै क्षमता–पहिचानको अभियान !






प्रतिक्रिया