अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउछन्: पुरुषोत्तम पौडेल

जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउछन्: पुरुषोत्तम पौडेल


बारा – नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र-२ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताउनु भएको छ ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताउनु भयो । 

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेण्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन् । जनताले अब जातिय नारा बोकेर आउनेलाई होइन, विकासको एजेण्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरुलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको बताएका छन् । 

घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलको भनाई थियो । वैशाख १० गते हुने निर्वाचनबाट  यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रुपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताउनु भयो ।