बारा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा क्षेत्र-२ मा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ।
चुनावी अभियानका क्रममा आज बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको विजय निश्चित रहेको बताउनु भयो ।
वैशाख १० गते हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रूपमा मैदान हुनु नै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलले दावी गर्नुभयो । नेता पोखरेलले फिरंगी र पार्टी चहार्दै हिँड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा-२ का मतदाता उत्साहित देखिएको बताउनु भयो । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिनुभयो।

अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो। पोखरेलले बारा क्षेत्र नं २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताउनु भयो ।
उहाँले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गर्नुभएको थियो । उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न पनि पोखरेलले आग्रह गर्नुभयो ।






प्रतिक्रिया