अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई पाबुका अग्नीपीडित मगरलाई आर्थिक सहयोग

रौतामाई पाबुका अग्नीपीडित मगरलाई आर्थिक सहयोग


उदयपुर- रौतामाई गाउँपालिका-८ पाबु पाखाटोल निवासी अग्नीपीडित रामबहादुर बुर्जा मगरलाई नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ।

उदयपुर-काठमाडौं सम्पर्क समितिको विशेष पहलमा रकम संकलन गरी अग्नीपीडित मगरलाई रु.२७ हजार ३७२ रुपैयाँ नगद सहयोग गरेको हो।

रौतामाई गाउँपालिका वडा-८ का वडाअध्यक्ष घमान सिंह मगरको प्रमुख आतिथ्यतामा, वडा-८ का वडासदस्य टंकबहादुर केप्छाकी मगर र नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य तथा उदयपुर-काठमाडौं सम्पर्क समितिका सल्लाहकार संयोजक शेरबहादुर बलम्पाकी मगर एवं गाउँटोलबासी, वुद्धिजीवी, समाजसेवीको हातबाट अग्नीपीडित राम मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

काठमाडौंमा स्थायी तथा अस्थायी रूपमा बासोबास गर्नुहुने विभिन्न पेशा, व्यावसायी गरिरहनुभएका सम्पूर्ण व्यक्ति तथा संघ, संस्थाहरुसँग आर्थिक सहयोग संकलन गरी अग्नीपीडित मगरलाई केही राहत होस् भन्ने उद्देश्यले नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको पहलमा रु.२७ हजार ३७२ रुपैया आर्थिक सहयोग गरेको समितिका अध्यक्ष केशरबहादुर मगरले जानकारी दिनुभयो।

गत फागुन २६ गते दिउँसो करीब ४ बजे अग्नीपीडित मगरको दुईतले घरमा विद्युत सर्ट भइ एक्कासी आगलागी हुँदा पूर्णरुपले घर जलेर नष्ट हुनुका साथै घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो। उक्त आगालागीमा परी मगरका ६ वर्षिया छोरी दुई वर्षिय छोरा समेत जलेर मृत्यु भएको थियो। सो घटनामा मानविय क्षति बाहेक रु.१० लाख बराबरको क्षति भएको थियो।

घर र एक छोरी र एक छोरा जलेसँगै मेरो परिवार घरबास विहीन भएको अग्नीपीडित मगरले बताउनु भयो। मगर भन्नुहुन्छ, ‘मेरो घरमा आगलागी हुँदा भाग्न नसकेर ६ वर्षिया छोरी र दुई वर्षिय छोरा गुमाउनु पर्दाको पीडा मलाई मात्र थाहा छ। त्यति मात्र कहाँ होर यतिबेला हाम्रो परिवार घरबास विहिन जस्तै भएका छौं । अहिलेसम्म गाउँले छिमेकी र आफन्तकोमा बसीरहेका छौं। शायद मेरो पीडा देखेर होला सहयोगी दाताहरुले आजको दिनसम्म आर्थिक सहयोग गरिरहनु भएको छ। नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको पहलमा रु.२७ हजार २७२ रुपैया आर्थिक सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यहाँहरुले गर्नुभएको पहललाई म कदर गर्दछु।’

मगरले आफूले पाएको सहयोग रकमबाट घर बनाउन लागेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘सहयोगी दाताहरुले दिनुभएको रकमले घर बनाउने तयारीमा छु।’

यसअघि रौतामाई गाउँपालिकाबाट रु.५० हजार नगद,  चार बन्डल जस्तापाता, पालिका अध्यक्ष विरेन्द्र मगर आफ्नो तलबबाट रु.१० हजार र वडा-८ बाट नगद रु.६ हजार र दाल, चामल तेल, चिउरा, साबुन, भाडावर्तन अग्नीपीडित परिवारलाई सहयोग गरिसकेको वडाअध्यक्ष घमान सिंह मगरले बताउनुभयो।

आगलागी बिस्तापित भएका परिवार स्थानीय छिमेकीको घरमा बस्दै आएका छन्। पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको आगलागीका घट्नालाई न्यूनीकरण गर्न वडाले जनचेतामूल कार्यक्रम अघि बढाउने वडाअध्यक्ष मगरले बताउनु भयो। उहाँका अनुसार समुदाय र विद्यालयमा आगलागीबारे जनचेतना अभिवृद्धि गर्ने, साना बालबालिकाहरुलाई सलाई, लाइटर खेलाउन नदिनेबारे अभिभावकलाई सल्ला-सुझाव जस्ता गतिविधिलाई अघि बढाउन लागेको समेत बताउनु भयो।

गत माघमा रौतामाई गाउँपालिका वड-४ नचने-बतासेका निवासी बमबहादुर मगरको घरमा पनि विद्युत सर्ट भइ आगलागी भएको थियो। आगलागी दुई घर जल्दा अन्नपात, लत्ताकपडा, भाडावर्तन र अन्य महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएको थियो। सो घटनाको जानकारी पाउनसाथ रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार मगर घटनास्थलमा पुगी निरक्षण गर्नुभएको थियो। निरक्षण गरिसक्नुभएपछि अध्यक्ष मगरले पालिकाबाट पाउने तलब सुविधाबाट अग्नीपिडित बम मगरलाई रु.२६ हजार आर्थिक सहयोग गर्नुभएको थियो। अध्यक्ष मगरले आफूले पाउने तलब सुविधाबाट आर्थिक सहयोग गर्नुभएछि जनताले विशेष धन्यवाद दिएको थियो। अध्यक्ष मगरले सो शुरुवातले गर्दा सबैमा हौसला बढेको छ। त्यही कारण हिजोआज कसैलाई समस्या पर्दा चुप लागेर बस्दैन, आफूले सकेको सहयोग गर्न अगाडि सर्छन् ।

घरको संरचना निर्माण, भित्री र बाहिरी सजावटमा जति ध्यान दिइन्छ, त्यति नै ध्यान विद्युतीय वायरिङ गर्दा पनि दिनुपर्छ। सुरक्षित वायरिङ गरिएन भने घर कहिल्यै सुरक्षित हुँदैन। वायरिङमा ध्यान नदिँदा विलासी विद्युतीय उपकरण चलाउँदा जुनसुकै बेला आगलागी हुन सक्ने खतरा रहन्छ। जसरी घरको आकर्षक डिजाइन तयार पार्न आर्किटेक्ट खोज्दै हिँड्छौं, घरलाई सुन्दर बनाउन इन्टेरियर डिजाइनर खोज्छौँ, त्यसरी नै विद्युतीय वायरिङका लागि पनि दक्ष इलेक्ट्रिकल इन्जिनियरको सल्लाह-सुझाव लिनुपर्छ।

कतिपयलाई घरमा बत्ती बले पुग्छ । विद्युतीय उपकरण र सिस्टमलाई पूरै सुरक्षित गर्न भरपर्दो ‘अर्थिङ’ गर्नुपर्छ । अहिले धेरैजसोका घरमा साधारण इलेक्ट्रिसियनले सामान्य रड गाडेर अर्थिङ गरिदिने गरेका छन्। जसको टेस्ट पनि गरिँदैन । बलियो अर्थिङ नगर्दा घर असुरक्षित हुन सक्छ। साधारण इलेकिट्रयसनले आफ्नो दक्षताअनुसार काम गर्छ, जसले गर्दा समस्या निम्तिन सक्छ। लोड क्यालकुलेसन, सर्किट डिभिजन, लोड ब्यालेन्स, केवल साइज सेलेक्सन आदि कुरा साधारण इलेक्ट्रिसियनले गर्न सक्दैनन्।