अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 आजदेखि विदेशबाट दुईवटा मोबाइल ल्याउन पाउने

 आजदेखि विदेशबाट दुईवटा मोबाइल ल्याउन पाउने


काठमाडौँ-विदेशबाट फर्केका नेपालीले आजदेखि २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागु गरेपछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाइने भएको हो ।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागले जनाएको छ ।  

निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरेपछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन् ।

 ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्ता हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन्।’

यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किँदा राहदानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।