अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीयलाई नागरिकता दिएको आरोपमा सप्तरी सिडिओ कार्यलयका अधिकृत सहित २६ जनालाई पक्राउ पुर्जी जारी

भारतीयलाई नागरिकता दिएको आरोपमा सप्तरी सिडिओ कार्यलयका अधिकृत सहित २६ जनालाई पक्राउ पुर्जी जारी


जनकपुर- भारतीयलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ‌।
प्रशासकीय अधिकृत रामसहित चार कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदित नारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनामाथि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको हो ।

झुटो विवरणको आधारमा भारतीय नागरिक सतिश यादवले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । राजविराजमा बस्दै आएका उनी राजविराज नगरपालिका ११ का सूर्यनारायण यादवका नाति हुन् । तर छोरा बनाएर झुटो विवरणको आधारमा सतिशलाई नागरिकता बनाएको थियो ।

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले ०८० वैशाख ३१ मा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई आरोप पत्र दायर भएको थियो ।

आरोप पत्र दायर भएका मध्ये सूर्य नारायण र सतिश पक्राउ परेका थिए । उनी दुवै जनालाई अदालतले ०८० जेठ १ मा एकरएक लाख धरौटी लिएर तारेखमा छाडिएको छ । तर आरोप पत्र दायर गरिएका मध्ये २६ जना फरार रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार नागरिकताको लागि सिफारिस गर्ने, मुचुल्कामा हस्ताक्षर गर्ने, नागरिकता जारी गर्ने लगायतका भारतीयलाई नागरिकता लिन सहयोग गरेका पक्राउ पुर्जी जारी भएको छ । सिडिओ अफिसका खरिदारद्वय संजिव कुमार साह र सुरज नेपाल पनि मुद्दामा परेका छन् ।

झुटो विवरणकै आधारमा नागरिकता जारी गरेपछि फसेका प्रशासकीय अधिकृत राम सिडिओ अफिसबाट ०८० जेठ २ मा सरुवा भएका छन् । उनी हिजो मात्रै सप्तरीकै विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएको बुझिएको छ ।