अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाकिस्तानमा हिमपहिरोमा परी ११ जनाको मृत्यु

पाकिस्तानमा हिमपहिरोमा परी ११ जनाको मृत्यु


काठमाडौँ-पाकिस्तानमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

उत्तरी पाकिस्तानको पहाडी क्षेत्र शौंटर पास पार गर्ने क्रममा घुमन्ते जनजातिका सदस्यहरू हिमपहिरोमा परेर मृत्यु भएको देशको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जियारत अलीले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार महिला र एक चार वर्षका बालक छन् ।

मृतकहरूको शव निकालिएको प्रकोप व्यवस्थापन निकायले जनाएको छ । एक बालकसहित १३ जना घाइतेलाई गम्भीर अवस्थामा स्थानीय अस्पतालमा लगिएको छ ।

“जलवायु परिवर्तनको प्रभावका कारण पाकिस्तानमा यस्ता घटनाहरू बढ्दै गएका छन्,” पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक विज्ञप्तिमा भनेका छन् ।

सरिफले जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट आर्थिक चुनौतीको सामना गरिरहेका विकासोन्मुख देशहरूलाई बचाउन आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

हालैका वर्षहरूमा कीर्तिमानी मनसुनी वर्षा र उत्तरी पहाडहरूमा ग्लेसियर पग्लिएको पाकिस्तान बढ्दो तापक्रमका कारण प्राकृतिक प्रकोपको जोखिममा रहेका शीर्ष १० देशहरूमा पर्छ ।

घटना गिलगिट–बाल्टिस्तान क्षेत्रलाई पाकिस्तान प्रशासित कश्मीरसँग जोड्ने शौंटर पासको नजिक भएको हो ।

गिलगिट बाल्टिस्तान, कहिलेकाहीँ हिमनदीहरूको भूमि भनेर चिनिन्छ । हालका वर्षहरूमा हिमनदी पग्लने कारण बारम्बार हिमपहिरो र हिउँ पहिरो देखिने गरेको छ ।-अल्जजिरा