अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्यलाई अध्यक्ष ओलीको निर्देशन-भारतले जारी गरेको नक्साको प्रतिवाद गर्नु

राष्ट्रियसभा सदस्यलाई अध्यक्ष ओलीको निर्देशन-भारतले जारी गरेको नक्साको प्रतिवाद गर्नु


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको भू-भागसहितको नक्सा संसदमा राखेपछि त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।  हिजो साँझ एमालेका राष्ट्रियसभामा सदस्य सबै १८ जना सांसदहरूसँगको छलफलमा अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । 

भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारत नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तु र विराटनगरलगायतका भू-भाग समेटिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ । 

राष्ट्रियसभा सदस्यहरूसँग अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको सदन र सडकबाट प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।  छलफलमा सहभागी एक सांसदका अनुसार नेपाली भूमि समेटेर भारतले नक्सा जारी गर्नु आपत्तिजनक रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले राष्ट्रियसभामा यस विषयलाई एमालेका तर्फबाट खुलेर प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

साँझ साढे ६ बजेदेखि करिब दुई घण्टा बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रियसभामा हाल भइरहेका गतिविधिका बारेमा जानकारी लिनुभएको थियो । 

‘अध्यक्षज्यूले राष्ट्रियसभामा के भइरहेको छ, कुनु कुन विधेयकमा छलफल चलिरहेको छ आदि विषयमा जानकारी लिनुभयो’, एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालले यो बेलासँग भन्नुभयो, ‘वर्तमान सरकार नेपालको लागि भन्दा अरू कसैको हितमा काम गर्न उद्धत रहेकोले एमालेले सबै मोर्चाबाट प्रतिवाद गर्नुपर्छ भन्ने उहाँको निर्देशन छ ।’

राष्ट्रियसभामा छलफलमा रहेका नेपाल विश्वविद्यालय विधेयक, राष्ट्रिय मर्यादा कायम गर्न बनेको विधेयक आदिका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको दाहालले जानकारी दिनुभयो ।