अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक, रेशम चौधरीलगायत विषयमा सभापतिले एक्लै निर्णय गर्नुभएको हो: गगन थापा

नागरिकता विधेयक, रेशम चौधरीलगायत विषयमा सभापतिले एक्लै निर्णय गर्नुभएको हो: गगन थापा


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको आरोप लगाउनु भएको छ।

नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

नेपाली कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको महामन्त्री थापाले बताउनुभयो। उहाँले भन्नुभयो,’पार्टीभित्र र कांग्रेससमेत संलग्न रहेको सरकारले गर्ने निर्णयमा सभापति गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू शेरबहादुर देउवाले अरूसँग छलफल नगरी एकल निर्णय लिने काम गरिरहनु भएको छ। रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो।’

महामन्त्री थापाले कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुने बताउनु भयो।

पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उहाँले जोड दिनुभयो।

सभापति देउवाले एकलौटी गरेका यस्ता निर्णयबारे आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने गरेको थापाको भनाइ छ। उहाँले भन्नुभयो, ‘यी सबै विषयका सन्दर्भमा कांग्रेसको सभापतिले एक्लै गरेको निर्णय हो। यो निर्णय मैले तपाईं (मिडिया)भन्दा पछि थाहा पाएको हुँ । अब म सहन्नँ। सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहेँ।’

‘कांग्रेसभित्रको गुट भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ’, महामन्त्री थापाले भन्नुभयो। महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताउनुभयो। कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उहाँको भनाइ थियो ।

उहाँले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताउनुभयो । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उहाँको भनाइ थियो ।