अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेसँग ट्युनिसियाका राजदूतको शिष्टाचार भेट

सभामुख घिमिरेसँग ट्युनिसियाका राजदूतको शिष्टाचार भेट


काठमाडौं– सम्माननीय सभामुख देवराज घिमिरेसँग ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेट गर्नुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो । ‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य छौं,’ सभामुखले भन्नुभयो, ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’ उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताउनुभयो ।
सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा वृहत्तर सहकार्य गर्न सकिने बताउनुभयो ।
नेपालमा गएको वर्ष भएको तीन वटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरु आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिनुभयो ।
ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उहाँले संसदीय कुटनीति विस्तारमा जोड दिनुभयो । उहाँले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभयो ।
आफ्नो पूर्वाधार निर्माण, इञ्जिनियरिङ, जहाज निर्माण, कृषि, स्वास्थ्य लगायतका विषयमा ट्युनिसियाले विशेष उपलब्धी हासिल गरेको बताउँदै राजदूत बिलेलले नेपालले पनि त्यसको फाइदा दिन सक्ने बताउनुभयो ।