अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७० वर्षको उमेर हद उपयोगी भएन, त्यसैले हटायाैं: अध्यक्ष ओली

७० वर्षको उमेर हद उपयोगी भएन, त्यसैले हटायाैं: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि ७० वर्षको उमेर हद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल महिला संघ वाग्मती प्रदेश कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले उपयुक्त नभएकाले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नुपरेको बताउनुभयाे।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको र कतिपय अन्य पार्टीबाट आएका नेतालाई जिम्मेवारी दिन पनि त्यो उमेरहद हटाउने निर्णय गर्नुपरेको उहाँले प्रष्ट पार्नुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्, कामै गर्न नपाउने ७० वर्ष पुगेपछि, राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो, कतिपय साथीहरु आउनुभयाे, उहाँहरुलाई जिम्मेवारी दिन पनि ७० वर्ष हटाइदिनुपर्‍याे।’

७० वर्षे उमेरहद नेपाल लगायत विश्वमै कतै नभएकाे बताउँदै उहाँले भन्नुभयाे, ‘७० वर्ष दुनियाँमा कतै छैन, ८० वर्षकाे राष्ट्रपतिले अमेरिका चलाइरहेकाे छ, शेरबहादुर देउवाजी ७७-७८-८० कति हुनुभयाे चलाइराख्नुभएकाे छ, कतैपनि छैन, हामीले राखेका थियाैं, हामीलाई पनि उपयुक्त भएन, यसले हामीलाई प्रगति गर्न अप्ठेराे पार्‍याे, त्यसकारण हामीले ७० वर्ष हटाउने भयाैं ।’

अमेरिका, बेलायत, जापान, भारत, चीन कतै याे उमेरहद नभएकाे भन्दै उहाँले चीन र साइप्रसले पहिला रहेकाे याे व्यवस्था अहिले हटाइसकेका बताउनुभयाे । ७० वर्षे उमेरहद उपयाेगी नभएर अन्तिममा छाेड्नु परेकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘काँही नभएकाे जात्रा एमालेमा गर्नुपर्ने के जरुरी छ ? त्यसकारण यसमा अल्झिन आवश्यक छैन।’ काम गर्न नसक्ने हाे भने उमेरले केही नहुने उहाँले बताउनुभयाे । काम गर्न सक्नेलाई र नसक्नेलाई भाेट दिने कुरा हाम्रै हातमा रहेकाे भन्दै अध्यक्ष ओलीले यसलाई धेरै चर्चाकाे विषय बनाउन आवश्यक नरहेकाे बताउनुभयाे।

एमाले युवाहरुलाई अवसर दिने पार्टी भएकाे भन्दै उहाँले युवाहरुलाई सँगै लिएर एमाले अगाडि बढ्ने बताउनुभयाे । काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको भन्दै अध्यक्ष ओलीले उमेर बढी घटी जे भएपनि काम गर्न सक्नेलाई काम गर्न दिनुपर्ने बताउनुभयाे ।