काठमाडौँ–पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । पहिरोमा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको र एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै पाँचथरमा गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् ।
फालेलुङ ३ खोलाघारी सेपीमा पहिरोले पुरेको बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् ।





प्रतिक्रिया