अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताको आडमा बजेटको दुरुपयोग गर्नु आपत्तिजनक: अध्यक्ष ओली

सत्ताको आडमा बजेटको दुरुपयोग गर्नु आपत्तिजनक: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताकाे आडमा बजेटकाे दुरुपयाेग गर्नु आपत्तिजनक रहेकाे बताउनुभएकाे छ।

सातै प्रदेशमा पार्टीबाट निर्वाचित प्रदेश सांसद्हरूसँगकाे भर्चुअल बैठकलाई आज केन्द्रीय कार्यालय च्यासलबाट सम्बाेधन गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि बजेट बनाइनुपर्नेमा सरकारमा रहेकाहरुकाे स्वार्थका लागि बनाइएकाे बताउनुभयाे।

उहाँले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा स्वार्थ प्रेरित भएको बताउनुभएकाे बैठकपछि एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ। ‘बजेट विनियाेजन पैत्रिक सम्पत्तिजस्ताे गरी मुख्यमन्त्री र अर्थमन्त्रीहरुकाे निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटकाे दुरुपयाेग गर्नु आपत्तिजनक छ’अध्यक्ष ‌ओलीकाे भनाइ थियाे ।

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन पनि दिनुभयो।’बजेटका गलत कुरा सच्याउन बाध्य पार्नेगरी सशक्त विराेध गर्न पनि उहाँले प्रदेश सांसद्हरुलाई निर्देशन दिनुभएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन अध्यक्ष ओलीले सांसद्हरुलाई आग्रह गर्नुभएकाे थियाे ।

प्रतिपक्षमा रहेपनि सरकारलाई सही बजेट ल्याउनका लागि सहयाेग गर्न उहाँले प्रदेश सांसद्हरुलाई निर्देशन दिनुभएकाे विज्ञप्तिमा उल्लेख छ । कोशी प्रदेश बाहेक अरु प्रदेशकाे बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे थियाे।

बैठकमा प्रदेशसभा नेकपा एमाले संसदीय दलका नेताहरूले आ-आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै धारणा राखेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।