अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चाबारे के भन्छन् एमाले नेताहरू ? 

समाजवादी मोर्चाबारे के भन्छन् एमाले नेताहरू ? 


काठमाडौँ–प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र समाजवादी मोर्चा बनाउन लागिएको टिप्पणी गर्नुभएको छ । उहाँले मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्न नसक्ने बताएको हो । सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तात्कालिक उद्देश्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रूपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला । तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्छ भन्ने सम्भावना चाहिँ अहिलेसम्म मैले देखेको छैन । आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरुको तात्कालिक उद्देश्य देखिन्छ ।’  

यस्तै एमालेका सांसद ठाकुरप्रसाद गैरेले समाजवादी मोर्चा नफल्ने खेती भएको टिप्पणी गर्नुभयो । उहाँले यो मोर्चाले कुनै लाभ दिन नसक्ने बताउनु भयो । 

उहाँले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी आन्दोलनकै पक्षमा नभएका बताउनु भयो । उहाँले समाजलाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरुको मोर्चाले केही काम गर्न नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा भनिँदै छ, यो नफल्ने खेती, बिरुवा नअंकुराउने खेती हो । यसले कुनै लाभ दिन सक्दैन । उहाँहरुले जे आवरणमा, जे ब्यानरमा हामी गर्छौ भनेर कोसिस गर्दै हुनुहुन्छ, जबकि उहाँहरू समाजवादी आन्दोलनको पक्षमा हुनुहुन्न । उहाँहरू कम्युनिस्ट आन्दोलन बलियो बनाउने उहाँहरुको स्पष्ट दृष्टिकोण छैन । उहाँहरुसँग कुनै समाजलाई अगाडी बढाउनको लागि कुनै ठोस कार्यक्रम र योजनाहरु छैनन् ।’

उहाँले सत्तारुढ दलहरुले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाइरहँदा आम जनताले ठिक पार्टी एमाले नै रहेछ भन्ने महसुस गर्न अवसर पाउने बताउनु भयो ।