अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्: झलनाथ खनाल

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्: झलनाथ खनाल


काठमाडौं-पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ। 

काठमाडौंमा आज आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो। ‘यो केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्, म नेताहरुको ध्यानाकर्षण गराउन चाहन्छु’ उहाँले भननुभयो।

देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने उहाँले बताउनुभयो। यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको नेता खनालको भनाइ छ। आज घोषणा भएको समाजवादी मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको खनालले चर्चा गर्नुभयो। 

मोर्चामा सहभागी नेताहरु इमान्दारी र विश्वाससाथ काम गर्न जरुरी रहेको भन्नुहुँदै नेता खनालले भन्नुभयो, ‘म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि यो मोर्चा खाली सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् ।’

देशको भविष्यलाई उज्यालो बनाउन आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको उहाँले बताउनुभयो । देशमा विद्यमान शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरु त्यसप्रति प्रतिवद्ध रहेको उहाँको जिकिर छ ।